Banijya News

रक्सीको लतमा फ्mस्दै राउटे

1
1.1K Shares

१८, मंसिर, २०७६, काठमाण्डौँ । तीन वर्षअघि राउटे मुखिया वीरबहादुर शाहीका छोरा २२ वर्षीय कपिल शाही आगोमा परेर घाइते भए । दुखाइ कम गर्न उनले मदिराको सहारा लिन थाले । गत साता स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरियो ।

वीरेन्द्रनगरमा उपचार हुन नसकेपछि उनलाई सोमबार काठमाडौं रिफर गरिएको छ । नियमित अत्यधिक मदिरा सेवनले उनका मिर्गौलाले काम गर्न छाडेको चिकित्सकको भनाइ छ । उनी मात्र होइन, मदिराको अत्यधिक सेवनका कारण राउटे समुदायमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । यसले बालबालिकादेखि वृद्धवृद्धासम्मको ज्यान जोखिममा परेको स्वास्थ्यकर्मीको भनाइ छ ।
१० वर्षको अवधिमा राउटे बस्तीमा एक सय १४ जनाको मृत्यु भएको छ । त्यसमध्ये धेरैजसो मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन् । मदिरा सेवनका कारण अधिकांश राउटेको शरीर फुलेको स्वास्थ्यकर्मी बताउँछन् । ०६४ सालमा दैलेखमा बस्ती बस्दा राउटेको संख्या २ सय ६८ थियो । त्यसयता राउटे समुदायमा जन्मदर र मृत्युदर बराबर जस्तै छ । अहिले १ सय ५० जना राउटे गुराँस गाउँपालिकाको सामुदायिक वनमा बसिरहेका छन् ।

मदिराकै कारण केही वर्षअघि भीरबाट खसेर महामुखिया ऐनबहादुर शाहीको ज्यान गयो । कृष्णबहादुर शाही र बिर्खबहादुर शाहीले पनि मदिरा सेवनकै क्रममा ज्यान गुमाए । राउटे बस्तीमा पुरुष मात्र नभई बालबालिका र महिलाले समेत मदिरा सेवन गर्छन् । ‘पहिले हामी घरेलु औषधि बनाएर खान्थ्यौं,’ ७६ वर्षीया मुदुषी शाहीले भनिन्, ‘अहिले बाहिरको औषधि खान्छौं । रक्सीले बिर्गायो तर सबैले खान्छन् ।’ केही समययता बलालबहादुर शाहीसहित पाँच युवामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ । बिरामी भएका बेला पनि मदिरा सेवन गरेकाले उनीहरूको ज्यान जोखिममा परेको छ ।
यो खबर आजको कान्तिपुरमा ज्योति कटुवालले लेखेका छन् ।

1

Scroll to Top