Banijya News

भिडभाड गर्न रोक, अत्यावश्यक कामबाहेक अन्य कामका लागि बाहिर ननिस्कन सरकारको आग्रह

1
1.1K Shares

चैत ०६, काठमाडौ ।
सरकारले कोरोना भाइरस फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न उच्च सतर्कता अपनाउँदै विभिन्न निर्णय गरेको छ । हिजो (बुधबार) बेलुकी बसेको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सार्वजनिक स्थालमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । कोभिड १९ को संक्रमण रोकथामका लागि भन्दै सरकारले सांस्कृतिक र सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरुमा २५ जना भन्दा बढीलाई भेला हुन प्रतिवन्ध लगाएको हो ।
युरोपसहित संक्रमण फैलिएका देशबाट भोली (२० मार्च) बेलुकीदेखि अप्रिल १५ सम्मका लागि नेपाल आउने प्रतिबन्ध लगाएको छ । चैत मसान्तसम्म शैक्षिक पठनपाठनका गतिविधि बन्द गरिएको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने नियम प्रभावकारी रुपमा कार्यान्वयन गर्न ट्राफिकसँगै नेपाल प्रहरीसमेत परिचालन गरेको छ ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले बढी मानिस जम्मा हुने हरेक कृयाकलापमा आगामी बैशाख १८ गतेसम्मका लागि रोक लगाउने निर्णय पनि गरेको छ । सरकारले बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरुमा दैनिक सरसफाई गर्न स्थानीय तहहरुलाई निर्देशन पनि दिएको छ ।

सरकारले कोभिड १९ रोगबाट संक्रमित भएकाको उपचार स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा उपचारको व्यवस्था मिलाउने बताउदै संक्रमणबाट बच्न बिशेष ध्यान दिन सर्वसाधारणमा अपिल पनि गरेको छ ।
आगामी बैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गर्दै सरकारले सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम लगायतका मनोरञ्जन स्थल पनि सोही समयसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बसेको बैठकले डान्सबार, मनोरञ्जन स्थल तथा स्वीमिङ पुल पनि बन्द गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक कामबाहेक अन्य कामका लागि बाहिर ननिस्कन आग्रह गर्दै सरकारले झुण्डिएर यात्रा नगर्न अनुरोध गरेको छ । सरकारले आवागमनमा लगाएको प्रतिवन्धका कारण आफ्नो मुलुक फर्कन नपाएका पर्यटकको भिषा नविकिरण गरिदिने भएको छ । सरकारले युरोपका सवै मुलुक, खाडी तथा पश्चिम एसियन मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने यात्रु तथा ती मुलुकलाई ट्रान्जिट बनाएर आउने अन्य मुलुकका नागरिकलाई पर्सि शुक्रबार मध्यरातिबाट बैशाख ३ गतेसम्म आगमनमा रोक लगाएको छ ।
यस्तै समितिको आजको बैठकले अवैध रुपमा लुकाएर राखेको अवस्थामा सरकारले फेला पारेका मास्क मध्ये ५ लाख थान स्वस्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत र बांकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री गर्ने निर्णय पनि गरेको छ ।
समितिले निर्णय कार्यान्वयनबारे अनुगमन गर्न गृह, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डन, उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, यातायात विभाग लगायतसम्बन्धित सवैलाई निर्देशन दिएको छ ।

1

Scroll to Top