Banijya News

मध्यरातमा क्वारेन्टाइनबाट भागिन् १६ वर्षीया गर्भवती  

1
1.1K Shares

सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट १ किशोरी भागेकी छिन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट ५ दिनअघि परीक्षणको रिपोर्ट नआउँदै १ युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।  

सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए ।

यादवका अनुसार क्वारेन्टाइनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि किशोरी मात्र भागेको पत्ता लागेको हो ।

क्वारेन्टाइनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन् । झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए।

भारतको दिल्लीबाट आएकी किशोरी २५ जेठदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । गत १३ माघमा एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् ।

राजविराज आएपछि क्वारेन्टाइनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ।

यसअघि सोही क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज-१ का ३० वर्षीय युवकको रिपोर्ट पोजिटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिएर राजविराज-२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ ।

युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टाइनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बताए । रासस

1

Scroll to Top