चर्चित भारतीय अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७७ वर्षिय बच्चनले आफ्नो सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । बच्चनले आफु अस्पताल भर्ना भएको जानकारी दिंदै आफ्ना सम्पर्कमा आएका सबैलाई परिक्षण गराउन अपिल गरेका छन् ।
अमिताभका छोरा अभिषेकलाई समेत कोरोना परिक्षणमा पोजिटिभ पाइएको छ । भारतका सर्वाधिक चर्चित कलाकार अमिताभ बच्चनले ५ दशकको अवधिमा २ सय फिल्ममा अभिनय गर्नुभएको छ ।
अमिताभ बच्चनका बाबुछोरालाई नै भारतको मुम्बइ स्थित नानावति अस्पताल भर्ना गरिएको छ । अस्पतालले दुबैको अवस्था स्थिर रहेको जनाएको छ ।
अमिताभ पत्नी जया र अभिषेक पत्नी ऐश्वर्या रायको कोरोना परीक्षण रिपोर्ट भने आज आउने छ ।
विश्वमा संक्रमणको दरमा तेश्रो स्थानमा रहेको भारतमा ८ लाख २० हजार ९ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढि प्रभावित मध्येको महाराष्ट्र राज्यमा मात्रै २ लाख ३८ हजार बढिमा संक्रमण भेटिएको छ ।


