बागलुङ-बागलुङ नगरपालिका-१ निरयघाटनजिक पहिराे खस्दा स्काभेटर, टिपर र ट्र्याक्टर पुरिएकाे छ भने २ जना बेपत्ता भएका छन्। शनिबार राति साढे आठ बजे खसेको पहिराेमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराेले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको नम्बर खुलेको छैन ।
पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशंका गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए। पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ । रासस


