Banijya News

लमजुङका घरबास आगामी १ भदौदेखि पर्यटकका लागि खुला

1
1.1K Shares

कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी १ भदौदेखि पर्यटकका लागि खुला रहने भएको छ ।

उत्तरी भेगमा रहेका लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एसियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरबास पर्यटकका लागि खुला गर्न लागिएको निर्णय ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आज बसेको बैठकले गरेको हो ।

लामो समयदेखि बन्द त्यहाँका घरबास स्वास्थ्य सावधानी अपनाउँदै आन्तरिक पर्यटकका लागि खुला गर्न लागिएको समितिका अध्यक्ष तथा सो गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

कोरोनाको त्रास रहे पनि यससँगसँगै अघि बढ्नका लागि कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरबासमा आउने पर्यटक तथा घरबास सञ्चालकले नियमित हात धुने, अनिवार्य मास्क, स्यानिटाइजर र पञ्जा लगाउनुपर्ने साथै सामाजिक दूरीसमेत कार्यम गर्नुपर्ने उनको भनाइ छ ।

घरबास सरकारले तोकेको मापदण्डभित्र रहने छन् । यसअघि त्यहाँका घरबासमा पर्यटक आए वा पर्यटक राखेमा घरबास सञ्चालक दुवैलाई जरिमाना तोकिँदै आएको थियो ।

पर्यटकका लागि घरबास खुला गरिए पनि तत्कालका लागि भने जिल्लाभित्रका आन्तरिक पर्यटकका लागि मात्र खुला गरिएको र बाहिरी जिल्ला तथा बाह्य पर्यटकका लागि भने खुला भइनसकेको घरबासका सचिवालय सदस्य दीर्घराज घलेले बताए ।

त्यस्तै घरबासमा प्रत्येक कोठामा क्षमताभन्दा आधा मात्र राखिने छ । परिवार नै आएमा एउटै परिवारका सबै जना एकै ठाउँमा राखिने समितिले जनाएको छ ।

परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्र, घ्याब्रोलगायत नृत्य तथा भीडभाड बढी हुने कार्यक्रम भने घरबासमा तत्काल नहुने भएको छ ।

त्यहाँ आएका पर्यटकलाई यसअघि प्रतिव्यक्ति करीब १ हजार रुपैयाँ लिइँदै आएको शुल्क नै कायम हुने भएको छ ।

नेपालकै दोस्रो तथा जिल्लाकै पहिलो घलेगाउँ घरबास २०५७ सालदेखि सुरु भएको थियो । घलेगाउँ समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण छ ।

यो आदिवासी जनजातिमध्ये तमु (गुरुङ)को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो ।

३२ घर दलित र ९३ घर गुरुङका गरी १२५ घरधुरीका स्थानीयवासीको बसोबास रहेको त्यहाँ घले (गुरुङ) र दलित समुदायले घरबास चलाएका छन् ।

नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, घलेराजाको उद्यान र गुरुङ सङ्ग्रहालय पनि हेर्न सकिन्छ ।

लमजुङ सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्न २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब ३ घण्टा र पैदलयात्रा गरेमा करीब ५ घण्टा लाग्छ । रासस

1

Scroll to Top