Banijya News

घरको चुलो बल्न छाडेपछि भारत फर्कनेको लर्को

1
1.1K Shares

सुर्खेत भेरीगंगा नगरपालिका–९, जरेका २५ वर्षीय आयुश तिरुवा बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा बिहीबार अपराह्न पसिनाले निथ्रुक भिजेर उभिएका थिए । पिठ्युँमा झोला बोकेका उनी नाका पार गर्न आतुर थिए । कोरोना महामारीका कारण दुई महिनाअघि उनी घर फर्किए पनि बेरोजगार भएपछि चुलो बल्न छाड्यो । त्यसैले फेरि भारत जान लागेको उनले बताए ।

‘घरमा कामधाम भएन, पैसा आउने ठाउँ छैन,’ उनले भने, ‘गुजरातमा नोकरी छ, जागिर छुट्ने चिन्ता भयो ।’ उनको टोलीमा सात जना थिए । उनीहरू सुर्खेतबाट गाडी बुक गरेर नाकामा आइपुगेका हुन् । ‘एक जनाको सात सय रुपैयाँ भाडा तिरेर आएका हौं,’ सुर्खेतका दलबहादुर विकले भने, ‘गाउँका सबै भारत जान हिँडेपछि घरमा बस्न मनले मानेन ।’ गुजरातको अहमदावादस्थित सोसाइटीमा काम गर्दै आएका उनी भारतमा कोरोना संक्रमण फैलिएपछि घर फर्केका थिए । ‘ऋण काढ्दै घर व्यवहार चलाइयो । अब ऋण तिर्नर् ेपैसा छैन,’ उनले भने, ‘कोरोना लाग्यो भने हामी दुःखीलाई सरकारले हेर्दैन ।’

कोरोनाको डर र घरको भर परेर आएका आफूहरू त्यही घरले भर नदिएपछि फेरि कमाउन भारततिर जानु परेको बाध्यता उनीहरूले सुनाए । ‘घरमा खानका लागि अन्न छैन । डर मानेर घरमै बसेर मुखमा माड लाग्दैन,’ सुर्खेतकी लक्ष्मी विकले भनिन्, ‘उता आफ्नो रोजगारी छ । हातखुट्टा बलियो छउन्जेल काम गर्नै पर्‍यो ।’ पहिले जमुनाहा नाकामा स्वदेश फर्किनेको हूल हुन्थ्यो । अहिले भारत फर्किनेको भीड लाग्न थालेको छ । धेरै एकै परिवारका छन् । कोही आफन्तसहित आएका थिए । मुगुकी विजया कार्कीले रोगले भन्दा भोकले मर्ने डरले भारत जान बाध्यता भएको सुनाइन् । ‘महामारीमा गरिबलाई रोगले भन्दा भोकले मार्ने डर भयो । घरमा अन्नको दाना छैन । बच्चा सानै छन्,’ उनले भनिन्, ‘कोरोना महामारी भए पनि आफ्नो सुरक्षा आफैं गर्छौं ।’

सुर्खेतका विनोदकुमार विष्टले गुजरातमा होटल खोलेका छन् । महामारीपछि होटलका कामदारसहित उनी घर फर्किएका थिए । लकडाउनपछि घर व्यवहार चलाउन कुनै उपाय नचलेपछि ३४ वर्षीय विष्टले फेरि गुजरात जान हिँडेको सुनाए । ‘घरमा आएको २ महिना भयो । यतिका समय काम नगरी बसें,’ उनले भने, ‘अब पनि रोगको डर मानेर घरमा कोचिएर बस्ने हो भने भोकै मरिन्छ । आफ्नो लगानी पनि हेर्नुपरो ।’ कोरोना महामारीपछि भारतमा रोजगारमा रहेका युवा नेपाली नागरिकता देखाएर स्वदेश आएका थिए । अहिले तिनै युवा भारतीय आधार कार्ड देखाउँदै भारततर्फ लागेका छन् ।

कोरोनाको महामारी फैलिएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द छन् । नेपालीको हकमा विदेशी कम्पनीको कामदार प्रमाणपत्र लिएका र भारतको स्थायी बसोबास गरेको आधार कार्ड भएकालाई भारत जान दिने अनुमति दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनले भने, ‘सबैलाई जाने अनुमति दिए नाकामा भीड थामिसक्नु हुँदैन ।’

तीन दिनयता भारत जानेको संख्या बढेको जमुनाहा नाकाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विष्णु गिरीले बताए । उनका अनुसार कर्णालीका विभिन्न जिल्लासँगै, बाँके, बर्दिया, कैलाली र पहाडी जिल्लाबाट आधार कार्ड भएकाहरू आफ्नो पुरानो रोजगारीका लागि भारत पसिरहेका छन् । जमुनाह नाका भएर ५ दिनको अवधिमा शनिबारसम्म दुई सयभन्दा बढी युवा भारत गएका छन् । ‘काम खोज्न जानेको संख्याभन्दा काम छोडेर पुरानो काममा फर्किनेको संख्या बढी छ,’ सई गिरीले भने, ‘अहिले भारतबाट फर्किनेभन्दा जानेको संख्या बढेको छ ।’ धेरैजसो मुम्बई, गुजरातको सुरत र पन्जाबका विभिन्न सहरतर्फ जाने गरेका छन् ।

भारत पस्ने केहीसँग आधार कार्ड छ, कसैसँग छैन । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका र कम्पनीको पास भएकालाई मात्र प्रवेश गर्न अनुमति दिएको छ । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर भारत पस्ने गरेका छन् । उनीहरूले आफूहरूलाई काम गर्न जाने ठाउँबाट गाडी बुकिङ गरेर नाकासम्म मगाएको बताएका छन् ।

कान्तिपुर दैनिकमा रूपा गहतराज र गिरुप्रसाद भण्डारीले खबर लेखेका छन् ।

1

Scroll to Top