Banijya News

पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न महासंघले दियो प्रशासनलाई ‘अल्टिमेटम’

1
1.1K Shares

कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । 

पत्रकार महासंघ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई छिट्टै पक्राउ गर्ने आश्वासन दिए । ‘हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘आइतबारसम्म घटनामा संलग्नलाई समात्न सक्छौँ ।’ 
 
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृतावस्थामा भेटिएका थिए । प्रहरीले दिएको जानकारीअनुसार थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । 

आत्महत्या भन्ने समाचार झुटो भएको र समाचार हटाउनुपर्ने भन्दै २०/२५ जना युवाको समूहले दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि कुटपिट गरेको थियो । समूहले सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कुटपिट गरेको थियो । रासस 

1

Scroll to Top