कोरोना संक्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेंगुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेंगु देखिएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा ३ सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेंगु देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्यांक संकलन भईरहेको छ । मुसामा हुने एकप्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका डा. महेन्द्र अग्रहरिले जानकारी दिए ।
यो रोग वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरिले बताए ।
यसै गरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो मध्ये एक डेंगु हो । यसको संक्रमणमा सुरुवाती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्रीभन्दा वढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखा पर्ने डा अग्रहरिको भनाइ छ ।
जिल्लाका सहरी क्षेत्रमा अहिले पानी भरिएको छ। त्यसले रोग थप बढ्न सक्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका डा. भोजराज अधिकारीले बताए । उनका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप बढ्दै जाने खतरा छ । जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी वढ्ने गर्दछन् । रासस


