Banijya News

पानीको मूल्य आफूखुसी बढाएर बिक्री

1
1.0K Shares

काठमाडौं । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य (एमआरपी)का आधारमा मूल्य बढाएको दाबी गरेका छन् ।

तर वाणिज्य विभागले भने पानीको एमआरपी तोके पनि त्यो कार्यान्वयन गर्ने विषयमा टुङ्गो नलागेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले एमआरपी कार्यान्वयनको विषयमा विभागले कुनै पनि उद्योगीलाई स्वीकृति नदिएको र आफूखुसी मूल्य बढाउने उद्योगीलाई कारबाही हुने बताए । उनले भने, “व्यापारीले आफूखुसी मूल्य बढाएको भन्ने गुनासो विभागमा पनि आउन थालेको छ । आफूखुसी मूल्य बढाउने व्यापारीलाई विभागले अनुगमन गरेर कारबाही गर्छ । ”
विभागका अनुसार पछिल्ला दिनमा जारको पानीमा गुणस्तर सुधार गर्नुपर्ने, महँगो मूल्यमा बेच्ने गरेको, पानीमा कीरा, लेउ भेटिने गरेको, जारको बिर्कोबाट पानी चुहिने र फोहोर जारमा पानी बेच्ने गरेकोलगायतका गुनासा आउन थालेका छन् ।

विभागले गत साउन र भदौमा पिउने पानीका उद्योगमा अनुगमनलाई तीव्र बनाएको थियो । त्यसबेला करिब चार दर्जन पानी उद्योग कारबाहीमा पनि परेका थिए तर पछिल्लो समय विभागको अनुगमन अरू क्षेत्रमा केन्द्रित भएपछि फेरि पानीमा उपभोक्ता ठगिएको गुनासो आउन थालेको विभागले जनाएको गोरखापत्रमा दैनिकमा खवर छ ।

1

Scroll to Top