अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् । कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् ।
रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिविपन्नमा सूचीकृत छन् । तथ्याङ्कअनुसार उपत्यकामा दुई महानगर र दुई गाउँपालिकासहित २० नगरपालिकामा ३४ हजार ९ सय ९३ अतिविपन्न परिवारले राहत पाउनेछन् ।
नगरपालिकामध्ये शंकरापुरमा ६ सय ६४, कागेश्वरीमा १ हजार ५४, गोकर्णेश्वरमा १ हजार ६ सय ४९, बूढानीलकण्ठमा १ हजार ४ सय ३२, टोखामा १ हजार ५ सय ६९, तारकेश्वरमा १ हजार १ सय ३०, नागार्जुनमा १ हजार ४ सय १६, कीर्तिपुरमा १ हजार ४, चन्द्रागिरिमा १ हजार ३ सय १ र दक्षिणकालीमा ३ सय ५२ अतिविपन्न परिवार सूचीकृत छन् ।
ललितपुरको ललितपुर महानगरपालिकामा २ हजार ४ सय ५५, महालक्ष्मीमा ७ सय ५६, गोदावरीमा ७ सय ५९, कोञ्ज्योसोम गाउँपालिकामा १ सय ६५ र वागमती गाउँपालिकामा १ सय ७७ परिवारले राहत पाउनेछन् । भक्तपुरको भक्तपुर नगरपालिकामा ६ सय ७१, चाँगुनारायणमा ६ सय ४२, मध्यपुर र सूर्यविनायकमा ७ सय ७७ परिवारले रकम प्राप्त गर्नेछन् । सरकारले ७ सय ५३ वटै स्थानीय तहका विपन्न परिवारको संख्यासहित कार्यविधि सार्वजनिक गरेको हो ।
कार्यविधिअनुसार महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको कारणबाट विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको संगठित क्षेत्रको मजदुर वा कामदार, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अतिविपन्न व्यवसायी, कोभिड संक्रमणको कारण एकाघरपरिवारको आय–आर्जन गर्ने, मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेका परिवार तथा अभिभावक गुमाएका नाबालकलाई स्याहार्ने परिवारले सो रकम पाउनेछन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


