Banijya News

एमसीसी कार्यान्वयन आवश्यक किन

1
1.1K Shares

सन्तोष मेहता
विश्व मानचित्रमा नेपाल सानो मुलुक हो, धरै सम्भावना भए पनि विकासको मापदण्डमा पछि परेकै हो । विकासोन्मुख हुनकै निम्ति विश्व बैंक लगायत अन्य मुलुकसँग हामीले थुप्रै ऋण पनि लिइसकेका छौं । विकासको फड्को पनि मार्नु छ र त्यस छलाङको निम्ति हामीसँग पर्याप्त पैसा पनि छैन, पुरानै पाएको ऋण पनि चुक्ता गर्ने अवस्था छैन यस परिवेशमा अमेरिकाले सहायता गर्न खोजेको एमसीसीलाई सदुपयोग गर्ने हो भने नेपाल विश्वको एउटा नमुना देश बन्छ । यो सहयोग हो– जुन फिर्ता पनि गर्नु आवश्यक छैन ।
अमेरिका विश्वको यस्तो एउटा देश हो– जो दिएर कहिले जोगी हँुदैन । आफूलाई लोकतन्त्रको अगुवा बनाइराख्न विश्वमा उक्त साख राखी राख्न विकासोन्मुख देशलाई अमेरिकी सरकारले सहयोग गर्ने गरेको छ । अमेरिकाले नेपाललाई पनि धेरै पहिलादेखि विभिन्न किसिमका सहयोग गर्दै आएको छ । हाल एमसीसीमार्फत गर्न लागेको सहयोगबारे नकारात्मक हल्ला र भ्रम देशव्यापी उर्लेको छ । मानौं एमसीसी पक्षधर व्यक्ति राष्ट्रघाती अनि विरोधी सबै राष्ट्रवादी हुन् । अझ माओवादी र कमरेड प्रचण्डमा ठूलै भ्रम रहेछ– एमसीसीको विरोध गरे भोट पाइएला भन्ने । उहिले वामदेव गौतमले यस्तै भ्रममा एमाले फुटाएर माले बनाए, महाकाली सन्धिको विरोध गर्दा भोट पाउने आशामा । देखेको र भोगेको देशको नदीको रहस्य त मतदाताले बुझेनन्, एमसीसीले भोट प्रभावित हुन्छ भन्नू बेतुकको भय हो । अन्तर्राष्ट्रिय सन्धिसम्झौता पढेर, बुझेर भोट हाल्ने न हाम्रो चेतनास्तर छ न त मतदाताको संस्कृति नै । झुठको हल्लाले कति नै भोट प्रभावित हुने हो र कपोलकल्पित हल्ला कतिन्जेल जीवित रहने हो । तसर्थ राजनीतिक दलहरूले डराउनुपर्दैन विशेषतः कमरेड प्रचण्ड र माधव नेपालजस्ता नेतृत्व सस्तो होहल्लाको भ्रममा नपरेकै राम्रो । कहींकतैबाट विरोध गर्नकै निम्ति लगानी भएको हो भन्ने भन्नु केही छैन तर ठीक, बेठीक, तथ्य सत्य हेर्ने, फाइदा बेफाइदा सोच्ने हो भने एमसीसीको विरोध आवश्यक छैन । एमसीसीले अमेरिकी सेना आउँछ जस्ता हल्ला पत्याएर हिँड्न जिम्मेवार नेतालाई सुहाउँदैन पनि । हुन त एमसीसी बुझेका अझ ल्याउन पहल गरेका नेताले पनि जे बुझे– त्यो जनतासम्म पु¥याउन नसक्नु उनीहरूको कमजोरी हो ।
२०१२ देखि सुरु भएको एमसीसी प्रक्रियामा प्रायः सबै दल र मुख्य नेता ६–७ वटा प्रधानमन्त्री तथा अर्थमन्त्रीहरु यस प्रक्रियामा सहभागी भइसकेका रहेछन् । यसो बुझ्दा प्रायःजसो नेता एमसीसीको पक्षमा छन् तर आफ्नो नेतृत्वमा यसलाई सदनबाट पास गराएर विकासको जस आफू लिन चाहन्छन् । या त कसै कुनै शक्तिको आडमा अमेरिकी सरकारको परम्परागत शत्रुको भरोसामा उक्त सहयोग र अमेरिका नेपालबीचको मित्रतालाई धरापमा पार्न चाहन्छन् ।
एमसीसी एउटा विकासको खाका बोकेको योजनालाई महाशक्ति राष्ट्रको राजनैतिक द्वन्द्वको आशंकामा देशलाई नै घाटामा पु¥याउँदैछन् । देश विकासका निम्ति आउन लागेको यत्रो रकम फिर्ता गएमा वा अन्य देशमा गएमा ती विरोध गर्नेका स्वार्थ सिद्ध होला तर नेपालको दुर्दशा हुनेछ । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको छ र जारी नै रहनुपर्छ । शिक्षा, स्वास्थ्य, विकासलगायतका क्षेत्रमा गरेको सहयोग त देशको हितमै साबित भएको छ । तसर्थ बिग्रेका सडक संरचनालाई पुनःनिर्माण गर्नु र पर्याप्त विद्युत् उत्पादन भई निर्यात गर्न सक्ने हैसियत बनाउनु र यी सबको निम्ति विदेशी लगानी भित्र्याउनु भनेको नेपाललाई समृद्धितिर उन्मुख गराउनु हो । एमसीसी अमेरिकी सांसदले पास गरेको कानुनमातहत विश्वका गरिब मुलुकलाई सहयोगको निम्ति तयार पारेको एउटा फण्ड हो । त्यो नितान्त एक शक्तिशाली राष्ट्रले विकासोन्मुख मुलुकलाई गर्ने सहयोग हो ।
नेपालले ५० करोडको एमसीसी सहायतामा हस्ताक्षर गरेयता सन २०१८ मा सेनेगलले ५५ करोडको र मंगोलियाले ३५ करोडको कम्प्याक्टमा हस्ताक्षर गरिसकेको छ । अर्मेनिया, बेनिन, बुर्किनाफासो, काबो वर्डे, एल साल्भाडोर, जर्जिया, घाना, होण्डुरस, इन्डोनेसिया, जोर्डन, लेसोथो, मालावी, मोल्दोभा, मंगोलिया, मोरक्को, मोजाम्बिक, नामिबिया, निकारागुवा, फिलिपिन्स, सेनेगल, तान्जिनिया, भानुआटु र जाम्बियाजस्ता धेरै देशमा एमसीसी कम्प्याक्ट लागु भइसकेका छन् । घानामा नेपालको भन्दा धेरै ५४ करोड डलर र इन्डोनेसियामा पनि नेपालको भन्दा धेरै ६० करोड अमेरिकी डलर, मोरक्कोमा ६९ करोड, मोजाम्बिकमा ५० करोड, सेनेगलमा ५४ करोड र तान्जिनियामा ६९ करोड डलरका एमसीसी कम्प्याक्ट लागु भइसकेका छन् । यसरी विश्वभर नै अमेरिकाले सहयोग गरी नै रहेको छ । एमसीसी अन्तर्गत सहयोग लिन चाहने देशले पूर्व शर्त पुरा गरिसकेको हुनुपर्ने छ जस्तै पारदर्शिता, भ्रष्टाचार, लैंगिक समानता, लोकतान्त्रिक शासन प्रणाली, निजी सम्पत्तिको रक्षा, खुला आर्थिक नीति, विश्वबजारको पहुँचता, आर्थिक वृद्धिको सकारात्मक संकेतजस्ता विषय राखिएका छन् । नेपालमा आर्थिक विकासमार्फत गरिबी न्यून गर्ने र एमसीसीको सहायतालाई नेपालको सुशासन, आर्थिक स्वतन्त्रता र नेपाली जनतामा लगानी गर्ने प्रमुख उद्देश्यका साथ एमसीए नेपाल गठन गरिएको हो । एमसीसीको लगानीका लागि नेपालले विद्युत् प्रसारण लाइन र सडकको आयोजनामा विकास गर्ने गरी पेश गरी छनौटमा परेको थियो । २०१० मा एमसीसीको टिम नेपाल आएको देखिन्छ र सन २०११ मा औपचारिक पत्र नेपाललाई पठाएको पाइन्छ । २०१७ सेप्टेम्बर १४, मा औपचारिक रूपमा एमसीए र एमसीसीबीच सम्झौता भई कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढेको  छ ।  नेपालको विकास किन भइरहेको छैन, यसको मुख्य बाधक के हो त भनी विश्लेषण गर्दा नीतिगत अस्थिरता, ऊर्जाको अपर्याप्तता र कमजोर पूर्वाधार अनि सडक पूर्वाधारजस्ता कुराले नेपालको विकासमा बाधक हो भन्नेमा दुईमत छैन ।

1

Scroll to Top