सर्लाहीको चक्रघटा गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधीन भवन शिलान्यास गरेकोमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ ।
उक्त गाउँपालिकामा पाँच आधारभूत स्वास्थ्यचौकी र चार स्वास्थ्यचौकी निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नौवटा वडामध्ये वडा न ४ सुन्दरपुर, वडा न ८ औहरी र वडा न ९ खोरियामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् भने वडा न २ भेल्हीमा भवन निर्माण गरी उद्घाटनको तयारी रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहले बताए । अस्पताल भवन निर्माणका लागि स्थानीय जगदिशप्रसाद यादवले पाँच कट्ठा र प्रदीप राय यादवले पाँच कट्ठा जग्गा दान गरेका छन् ।
सङ्घीय सरकारको ‘एक स्थानीय निकाय एक आधारभूत अस्पतालको अवधारणा’अन्तर्गत अर्थमन्त्रालयबाट प्राप्त १९ करोड आठ लाख रुपैयाँको लागतमा अस्पताल निर्माण हुन लागेको अध्यक्ष यादवले बताए ।


