Banijya News

मैनहिया–सम्पत्तिया प्रसारणलाइन निर्माण ६० प्रतिशत सम्पन्न, बुटवल–लुम्बिनी अन्तिम चरणमा

1
1.1K Shares

नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारणलाइनको निर्माण ६० प्रतिशत सकिएको छ ।

रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनुवा) सबस्टेसन जोड्ने प्रसारणलाइनको निर्माण आउँदो असारसम्ममा सक्ने लक्ष्य छ ।

२८ किलोमिटर प्रसारणलाइनमा पर्ने ९६ टावरमध्ये ४४ वटाको जग हालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पाँच टावर खडा गरिएको छ । प्रसारणलाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारणलाइनका उपकरणहरू आयोजनास्थलमा ल्याइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, विद्युत् प्राधिकरणका सञ्चालकहरू, कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन गरेको छ । टोलीले नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि यो लाइन महत्त्वपूर्ण रहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ ।

नेपाल र भारतबीचका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको ०७५ माघमा पोखरामा सम्पन्न छैटौँ बैैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यु नौतनुवा–मैनहिया १३२ केभी प्रसारणलाइन निर्माण गर्ने सहमति गरेको थियो । त्यसपछि ०७६ कात्तिकमा भारतको बैंग्लोरमा सम्पन्न ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारणलाइनलाई न्यु नौतनुवा (सम्पत्तिया, भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारणलाइन निर्माण गर्न लागिएको बताए ।

“नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत् उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्त्वपूर्ण छ,” उनले भने, “लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुनेछ । यसबाट दुई मुलुकबीचको विद्युत् व्यापार थप सहज र विस्तार हुनेछ ।”

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारणलाइन भारतसँगको सीमाविन्दु मर्चवार (श्रीरामपुर)सम्म निर्माण गरिनेछ ।

1

Scroll to Top