वि.सं. २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि लोकतान्त्रिक सरकारले आर्थिक उन्नतिका लाथि उदार अर्थनीति ल्याएर देश र जनताको भविष्य पूर्ववर्ती शासनकालभन्दा राम्रो बनाउने प्रतिबद्धता जाहेर गरेको थियो । नयाँ नयाँ उद्योग लगाउन भारतबाट धेरै उद्योगपतिहरुलाई आमन्त्रण पनि गरियो । सरकारी नीति कार्यान्वयनमा अवरोधका रूपमा देखा पर्ने जडसूत्रवादी कर्मचारीहरुको पजन पनि गरियो । कतिपय उद्योग सञ्चालनमा आए । तर प्रगतिशील विचारको कसरत धेरै दिन चल्न सकेन । बिस्तारै अर्थतन्त्रको गाडी पुरानै लिकमा कछुवाको चालमा हिँड्न थाल्यो । लोकतान्त्रिक सरकारले लिएको देशको उन्नति प्रगतिको अवधारणा बिस्तारै पानामा सीमित हुन पुग्यो । देशको अर्थतन्त्र प्रगतिको बाटोमा अग्रसर हुन सकेन ।
संयुक्त राष्ट्रसंघको महासभाको ७६औं सत्रको ४०औं बैठकले सन २०२६ देखि नेपाललाई विकासशील देशको सूचीमा सूचीकृत गर्न अनुमोदन गरेको छ । यस अवधिसम्म नेपालले आफ्नो अर्थतन्त्रमा संरचनात्मक सुधार गर्नुपर्ने भनिएको छ । आगामी ५ वर्ष दिएको समयसीमामा उद्योगधन्धा, उत्पादन बृद्धि र आर्थिक परिसूचकलाई प्रगतिशील बनाउन कति कडा मेहनत गर्नुपर्नेछ, जुन धेरै ठूलो चुनौतीको विषय हो । प्रणालीभित्र आर्थिक अनियमितताले जरा गाडेर बसेको अवस्थामा आर्थिक रूपान्तरणको कार्यभार पूरा गर्न कठिन नै देखिएको छ । आर्थिक क्षेत्रमा बढिरहेको विकृति र अर्थ व्यवस्थाले भोगिरहेको दयनीयताको पीडा हेर्दा सरकारको नीति र राजनीति अर्थतन्त्रप्रति उदासीन रहेको प्रष्ट हुन्छ ।
आयात, निर्यात र व्यापार घाटाले अर्थतन्त्रको अवस्था कस्तो रहेको मूल्यांकन गर्दछ । असोजमा ४ खर्ब ७९ अर्बको, कार्तिक महिनामा ६ खर्ब ५० अर्बको र मंसिर महिनामा ८ खर्बबढीको आयात भएको छ । आयातको यही दर कायम रह्यो भने वर्षभरिमा आयात २० खर्ब पुग्न सक्ने देखिन्छ । हालाँकि अहिले केही वस्तुमा नेपाल राष्ट्र बैंकले आयात गर्न रोक लगाएको छ । आर्थिक परिसूचक सबै एकअर्कासँग सम्बन्धित रहेकोले यसको नकारात्मक असर पनि देखिएको छ । आयातमा सुधारका लागि गरिएको यो कार्य कहीँ कतै सकारात्मक असर परेको देखिँदैन ।
अर्थतन्त्रको स्तरोन्नति, प्रगतिशीलता र चलायमान अवस्थामा नरहँदा राजस्व उठाउने एकमात्र स्रोत आयात रहेकोले सबै उत्पादनमुखी नभएर आयातमुखी भए । विलासिताका वस्तु आयात गरेर सात खर्बको व्यापार घाटा बढाउनुको कुनै अर्थ छैन । प्रतिव्यक्ति ५० हजार ऋणको भार हामी बोकेका छौं । तर पनि महँगा गाडी आयात गरेर चढ्छौं । विप्रेषणको रकम उत्पादक क्षेत्रभन्दा विलासिताका वस्तुमा बढी खर्च भइरहेको छ । जिम्मेवार व्यक्तिहरु नै ‘भ्रष्टाचार गर्दैनौं, गर्न पनि दिन्नौं’ भनेर यथास्थितिलाई नै स्वीकारेर जिम्मेवारीहीन भएको देखिन्छ । सुधारका नीति छैन, नीति बनाए पनि त्यसको स्वच्छ कार्यान्वयन छैन । राजनीतिकर्मीहरुले दायित्व विर्सेका छन् ।
आर्थिक सुधारका लागि एकमात्र उत्पादन क्षेत्रलाई बढाउनु हो । सरकार, अर्थविद्, सामाजिक अभियन्ता, राजनीतिक विश्लेषक, व्यापारी आदि सबैलाई देशको अर्थतन्त्र उकास्ने विषयमा गहन छलफल र निचोड लिएर सरकार कडाइका साथ कार्यान्वयनमा जानुपर्दछ । एक हजार तीन सय ७५ को ग्यास एक्कासि एक हजार पाँच सय ७५ पु¥याउँदा जनताले केही गरेको छैन तर सरकारको गैर जिम्मेवार हर्कत त जनताले भोगी नै रहेका छन् । त्यसैले सुधारका सम्भावना अध्ययन गर्ने, केलाउने, लागू गर्ने तथा नकारात्मक परिणाम आउँदा अर्को सफल प्रयासमा लाग्ने । यही क्रमले सबै आफ्नो जिम्मेवारीमा सक्रिय रहन्छन् र एउटा सकारात्मक परिणाम प्राप्त हुन सक्दछ ।
अर्थक्षेत्रको समस्यालाई पहिचान गरी तत्काल र दीर्घकालको समस्यालाई वर्गीकृत गरी प्राथमिकतामा के राख्ने, त्यसपछि के राख्ने, दीर्घकालीन अवस्थामा के राख्ने आदि कुराको निर्णय गरी समस्या समाधानमा जुट्नुपर्दछ । आयातलाई न्यून गर्न सर्वप्रथम देशको उत्पादन क्षेत्रलाई गतिशील बनाउनुपर्छ । यस क्षेत्रमा पनि लगानी गर्दा असल, अनुभवी, जेहेन्दार र लगनशील व्यक्तिलाई छान्नुपर्दछ– जसले उत्पादनलाई पेशा बनाओस् । घाटा लागे पनि उत्पादन नरोकियोस् र मेहनत गरेर पेशालाई लाभकारी बनाओस् । आसेपासे र बिचौलियाले लगानीको दुरुपयोग गरि छाडेर अर्को पेशालाई बर्बाद गर्न अग्रसर नहोस् । लगानी गरिएको उत्पादन क्षेत्रलाई कडाइका साथ अनुगमन गरियोस् । यो अभिभारा निजी क्षेत्रलाई दिइयोस् । निजी क्षेत्रको उत्पादन क्षेत्रमा ठूलो व्यापकता छ । उसलाई पैसाभन्दा पनि सरकारी सहुलियत चाहिएको छ । काममा कुनै बाधा नपर्ने गरी सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्दछ । त्यसको लागि सुविधाजनक नीति बनाउनुपर्दछ ।
सरकारी संयन्त्रको विकृत सोचले कुनै योजनामा देखाउने लगानीको जोखिम, समयमा त्यस योजनाको स्थलगत अध्ययन, विश्लेषण नहुनु, राजनीतिक विषमता, योजनामा लगानी देखाउने आफ्नो भूमिका नदेख्दा विभिन्न निहुँमा अवरोध खडा गर्नु आदि कारणले अपेक्षाकृत रूपमा पुँजीगत खर्च नहुनुले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ । यसले अर्थतन्त्रको सकारात्मक वृद्धिलाई रोक्छ र समग्र परिसूचक प्रभावित हुन्छ । एउटा सरकारले गर्ने काम अर्को आउने सरकारले भत्काउने विकृत मानसिकताले देशको अर्थतन्त्र गतिशील नहुनु एउटा प्रमुख कारण हो । सधैं सुरुवात गर्ने बानीले पनि अर्थतन्त्र गतिहीन हुने गरेको अवस्था छ । अर्थतन्त्रलाई टेवा पुग्ने राष्ट्रिय सोचको आधारमा नीति निर्माण हुनु र आफ्नो नाम चलाउन वित्तीय विधेयक ल्याउनुमा धेरै अन्तर छ ।
संयुक्त राष्ट्रसंघको महासभाले आर्थिक सुधारोन्नति, उत्पादक बृद्धि, आयबृद्धिका लागि दिएको पाँच वर्ष नेपालको लागि धेरै चुनौतीपूर्ण छ । यस सम्बन्धमा बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरे पनि सरकारको यसबारे नीति के होला भन्न कठिन छ । सरकारले देशको अर्थतन्त्रबारे गम्भीर हुनु जरुरी छ । विकासशील देशमा सूचीकृत हुनुभन्दा अघि त्यसको पूर्वाधार खडा गर्ने चुनौती त छँदैछ । आफ्नो देशको समुन्नतिप्रति जिम्मेवार रहनु कुनै पनि सरकारको दायित्वबोध हुनुपर्दछ ।
अर्थतन्त्रको क्षेत्रमा धेरै विषमता र सुशासनको अभाव छ । देशको अर्थनीतिसँग राजनीतिको कुनै सम्बन्ध छैन । भ्रष्टाचार चारैतिर व्याप्त छ । नीति बनाउनेप्रति राजनीतिको कुनै चासो हुँदैन । जबकि नीति, राजनीतिको अन्योन्याश्रित सम्बन्ध हुनुपर्दछ । राजनीतिलाई देश र जनताको चासोको विषय नबनाई आफ्नो आफ्नो दलगत लाभमा प्रयोग भएको कारण सबै क्षेत्र अराजकताको शिकार भएको छ । आर्थिक अनियमितताको प्रवल बेगलाई नियन्त्रणमा राख्नु धेरै कठिन अवस्था रहेकोले सुशासनको कल्पनामात्र गर्न सकिन्छ, लागू गर्न सकिन्न । देशको यस्तो दयनीय अवस्थाप्रति शीर्ष राजनीतिक दलहरुलाई जिम्मेवारबोध नहुनु देशको ठूलो दुर्भाग्य हो ।
दलगत रूपमा कृषिको आधुनिकीकरण गर्ने, वैज्ञानिक विधिबाट कृषि उत्पादन बढाउने, कृषिलाई उद्योगमा रूपान्तरण गर्ने आदि कुरा समावेश गरी अवधारणापत्र बनाएर राखेको इतिहास सबैसँग छ । सरकारले पनि हचुवाको भरमा विदेशी कार्यक्रम अपनाउँदै कृषि विकास रणनीतिको २० वर्षे कार्यक्रम २०५२ मा लागू ग¥यो । २०७२ मा यसले पुनः निरन्तरता पायो । बीच÷बीचमा तीनवर्षे कृषि कार्यक्रम अलग्गै ढंगले अवसर पायो । यसरी भिन्न÷भिन्न देशको सहयोगमा कृषि कार्यक्रम सञ्चालन हुँदा यसले उत्पादन क्षेत्रमा के योगदान ग¥यो त्यसको कुनै लेखाजोखा छैन ।
उत्पादनको मुख्यक्षेत्र कृषि हो । ८५ प्रतिशत जनसंख्यालाई कुनै बेला रोजगार दिएर राखेको कृषिक्षेत्रले धानचामल निर्यात गर्न ख्याति पाएको थियो । त्यही कृषि अहिले अर्बौंको चामल आयात गर्ने अवस्थामा पुगेको छ । जीडीपीमा ३४ प्रतिशत योगदान गर्ने कृषि अहिले २५ प्रतिशतमा झरेको छ । निर्वाहमुखी पनि बन्न नसकेको कृषिक्षेत्रमा उत्पादन बढाउन गरिएको लगानीको प्रतिफल शून्यको स्थितिमा यसको सुधारको जिम्मेवार को ? निश्चय पनि सरकार हो । तर यो सरकार कृषिलाई उत्पादन क्षेत्रमा नाम दर्ता गराउन सफल होस्– शुभकामना छ ।


