यती एयरलाइन्सको जहाजमा इन्जिनमा खराबीको संकेत देखिएपछि पोखराबाट काठमाडौंका लागि बिहान ८ः५४ बजे उडेको जहाज उडान भरेको ६ मिनेटमै पुनः पोखरा नै फर्काइएको छ । ६७२ उडान नम्बरको एटीआर जहाजले उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जहाजको इन्जिनमा समस्या देखिएपछि पोखरामै फर्काइएको जनाए ।
उनका अनुसार ४५ जना यात्रु लिएर जहाज उडेको केही समयमै जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले सुरक्षाका लागि जहाज पोखरा मै अवतरण गराएको जनाएको हो । जहाजमा समस्या आएपछि अरू उडानलाई होल्ड गराएर पहिले समस्या देखिएको जहाजलाई अवतरण गराइएको सुवेदीले जानकारी दिएका छन् ।


