‘आज राति म अनलाइनमा आउन्नँ, अब दश दिनपछि मात्रै कल गर्छु । त्यही भन्दे आमालाई, पीर गर्नुपर्दैन ।’ पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासीको कावासोती बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको फेदमै छ, सानो बस्ती– छिपछिपे । यही बस्तीमा जस्तापाताले छाएको सानो घरमा बस्छन्, यमकला तिवारी र उनका जेठा छोरा दीपेन्द्र । यमकलाका कान्छा छोरा नवीन युरोपको सपना बोकेर करिब पाँच वर्षअघि टर्कीतर्फ लागेका थिए । १९ मंसिर २०७४ को राति करिब ९ बजे उनै नवीनले टर्कीबाट पठाएको सन्देश दीपेन्द्रले आमा यमकलालाई सुनाएका थिए । करिब ४ हजार ६ सय २० किमि परबाट ‘दश दिनपछि कल गर्छु’ भन्ने सन्देश पठाएका नवीनले त्यसपछि न फोन गरे न त कुनै सन्देश नै आयो ।
२४ वर्षीय नवीन कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट ग्रीस जाने सपना बोकेर १५ कात्तिक २०७४ मा घरबाट विदाबारी भएका थिए । घरबाट हिंडेको २४ दिनपछि नवीनले आफू टर्कीको राजधानी इस्तानबुल पुगेको खबर दाइ दीपेन्द्रलाई पठाए । इस्तानबुल पुगेको पाँचौं दिनमा नवीन ग्रीस जान हिंड्नेहरूको समूहमै रहेको सम्म टोलीका अन्य सदस्यबाट थाहा भएको छ । त्यसयता कान्छो छोरा आउने बाटो हेर्दाहेर्दै यमकलाका आँखा थाकिसकेका छन् ।
टर्कीबाट अवैध रूपमा ग्रीस छिर्नेहरू इभ्रोस नदी वा भूमध्यसागर पार गर्ने जोखिम उठाउँछन् । क्षमताभन्दा धेरै मानिस हालिएका जोखिमपूर्ण डुंगाबाट नदी वा समुद्र पार गर्न नचाहनेले २ सय ३ किमि लामो जंगलको बाटो पार गर्नुपर्छ । नवीनले परिवारसँग गरेको कुराकानी र उनीसँगै हिंडेका इलाम घर बताउने मोती गुरुङ, रोहित गुरुङ र नवलपरासी कावासोतीकै टीकाराम भट्टराईको कथनअनुसार उनीहरू पनि पैदल मार्गबाट अघि बढे ।
२५ जुलाई २०१८ मा फेसबुक म्यासेन्जर मार्फत भएको कुराकानीमा मोती गुरुङले कठ्यांग्रिँदो चिसोमा घना जंगलको बाटो हुँदै ७ रात ८ दिनसम्म हिंड्नुपरेको र त्यसक्रममा भोकैप्यासै हिंडिरहेका नवीन बिरामी परेको बताए । उनले भने– ‘नवीनलाई जंगलमै एकजना मान्छेको जिम्मा लगाएर एजेन्टले हामीलाई अघि बढायो, त्यसपछि के भयो थाहा छैन ।’ ग्रीसबाट सम्पर्कमा आएका मोती त्यसपछि भने सम्पर्कमा आएनन् । उनकोे फेसबुक अकाउण्ट पनि १५ मार्च २०२० यता अपडेट भएको छैन ।
दश दिनपछि फोन गर्छु भनेका भाइको कुनै खबर नआएपछि दीपेन्द्रले नवीनसहितको समूहलाई टर्कीबाट ग्रीस छिराउने जिम्मा लिएका मोहम्मद नाम गरेका पाकिस्तानी एजेन्टसँग ‘इमो’ मार्फत सम्पर्क गरेका थिए । मोहम्मदले ग्रीस जाने क्रममा नवीनको खुट्टा सुन्निएको र ज्वरोसमेत आएकाले अस्पतालमा उपचार भइरहेको बताएको तर, कहाँको कुन अस्पताल हो भन्ने नखुलाएको दीपेन्द्रको भनाइ छ न त नवीनसँगै ग्रीसका लागि हिंडेका अरू नेपालीलाई नै त्यसबारे थाहा छ ।
नवीन हराएको खबर सार्वजनिक भएको करिब सात महिनापछि नवीनसँगै यात्रा गरेका मोती गुरुङसँग सम्पर्क हुन सकेको थियो । त्यतिबेला ग्रीस पुगिसकेका उनी २५ दिन थुनामा बसेर छुटेका थिए । २५ जुलाई २०१८ र २ जुलाई २०१८ मा म्यासेन्जरमा कुराकानी हुँदा उनले इस्तानबुलबाट ग्रीस जानका लागि एक एजेन्ट, एक डोंकर (जंगलमा बाटो देखाउने मानिस) सहित चार नेपाली र तीन पाकिस्तानी मध्यराति सँगै हिंडेको बताए । छोराको पर्खाइमा बिताएका प्रत्येक दिनको सम्झना मात्रैले पनि यमकलालाई हुरुक्कै बनाउँछ । उनी भन्छिन्– ‘छोरो हराएपछि मेरा दिनरात हराएका छन् । मर्नु न बाँच्नु भएकी छु ।’
बेवारिसे मृत्यु, न्यून उजुरी
संगठित मानव तस्करकोे प्रलोभनमा परी ११ देखि १५ लाख रुपैयाँ खर्चेर टर्की पुगेका अधिकांश नेपालीको एउटै ध्याउन्न हुन्छ– जसरी हुन्छ, ग्रीस पुग्ने । तर, युरोपेली संघको सदस्य र सम्पन्न देश ग्रीस छिरेपछि पनि नेपालीको यात्रा टुंगिँदैन । टर्कीको कोच युनिभर्सिटीका प्राध्यापक एवं माइग्रेसन रिसर्च सेन्टर का निर्देशक आमेत इस्डुगु लिखित ट्रान्सबोर्डर क्राइम बिट्विन टर्की एण्ड ग्रीसः ह्युमन स्मग्लिङ एण्ड इट्स रिजनल कन्सिक्वेन्सेस शीर्षकको अनुसन्धानपत्रमा टर्कीबाट ग्रीस छिरेका मध्ये १४ प्रतिशतको गन्तव्य बेलायत हुने, १३ प्रतिशतको जर्मनी, १३ प्रतिशतको ग्रीस, ६ प्रतिशतको इटली र ५ प्रतिशतको फ्रान्स हुने उल्लेख छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा प्रमुख रहिसकेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राई पनि ग्रीस पसेका नेपाली त्यहाँबाट युरोपका अन्य देश जाने प्रवृत्ति रहेको बताउँछन् ।
नवीन र मोतीसँगै हिंडेर ग्रीस पसेका रोहित गुरुङसँग १८ जुलाई २०१८ मा फेसबुक म्यासेन्जर मार्फत भएको कुराकानीमा उनले आफूजस्तै गरी ग्रीस पुगेका नेपाली कोही पोर्चुगल र इटली त कोही स्पेनतिर पुगिसकेको बताएका थिए । उनका अनुसार त्यतिबेला उनी ग्रीसको एउटा होटलमा दैनिक १० डलर ज्यालामा काम गरिरहेका थिए– जुन रकम एक दिनको खाना र बसाइका लागि पर्याप्त थिएन । उनले भनेका थिए– ‘ग्रीस छिरेका ७५ प्रतिशत नेपालीको हालत यस्तै हो ।’ त्यसपछि २५ डिसेम्बर २०१९ मा कुराकानी हुँदा भने उनी पनि पोर्चुगल पुगिसकेका रहेछन् ।
कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट संगठित मानव तस्करका एजेन्टलाई लाखौं रुपैयाँ बुझाएर अवैध रूपमा ग्रीस छिर्न खोज्ने नेपालीको यकिन विवरण प्रहरी र अन्य सरकारी निकायसँग छैन । डीआईजी राई अवैध रूपमा टर्की हुँदै ग्रीस छिर्ने क्रममा दुर्घटनामा पर्ने नेपालीको संख्या ठूलो भए पनि पीडितका परिवारले हराएको, मृत्यु भएको वा संगठित मानव तस्करीमा परेको सूचना नदिने हुँदा यस्तो संख्या ठ्याक्कै थाहा नहुने बताउँछन् ।
डीआईजी राईले भने जस्तै यमकलाले पनि छोराको खोजीका लागि कुनै सरकारी निकायमा निवेदन दिएकी छैनन् । नवीनलाई टर्की पठाउने काममा आफन्त नै जोडिएको हुँदा उनको परिवारले सरकारी पहलका लागि उदासीनता देखाएको हो । डीआईजी राई भन्छन्– ‘घटनाबारे अनौपचारिक सूचना आए पनि पीडितका परिवार प्रहरीमा आउँदैनन् । संगठित मानव तस्करीका अधिकांश घटनामा पीडितकै चिनजानका, छिमेकी वा आफन्त जोडिएका हुन्छन् ।’
यमकलाका अनुसार नवीनलाई टर्की पठाउन चाँजो मिलाउने बुटवलनिवासी उनकै भिनाजु तुलसीप्रसाद न्यौपाने हुन् । साउदी अरबमा एक दशकभन्दा धेरै बसेका तुलसीले प्रक्रिया मिलाइदिएकै कारण यमकला ढुक्क थिइन् । घर छाड्ने दिन नवीनसँग भएको कुरा सम्झंदै यमकला भन्छिन्– ‘मासिक ३० हजारको काम मिल्छ । पार्टटाइम पाइयो भने अझै धेरै कमाइ हुन्छ भन्थ्यो तर, बेपत्ता भयो ।’
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट्स का अनुसार सन २०२२ को मेसम्मका पाँच महिनामा मात्रै टर्की–ग्रीस सीमा क्षेत्रमा २१ जना आप्रवासीको मृत्यु भएको छ । सन २०२१ को जनवरी–फेब्रुअरीमा मात्रै १० जना आप्रवासी सीमा क्षेत्रमा मृत भेटिएका थिए । अवैध बाटो भएर ग्रीस जानेलाई एजेन्टले परिचय खुल्ने कुनै कागजात वा मोबाइल फोन राख्न दिंदैनन् । त्यसैले मृत वा मानसिक स्वास्थ्य बिग्रेको अवस्थामा भेटिएका यस्ता आप्रवासी कुन देशका हुन् भन्ने खुल्दैन ।
३ फेब्रुअरी २०२२ मा टर्कीबाट अवैध रूपमा ग्रीस छिर्न खोजेका नेपाली, पाकिस्तानी र केही अफ्रिकीसहित करिब ५० जनालाई ग्रीसका सीमा सुरक्षा अधिकारीले पक्राउ गरे । पक्राउ परेका व्यक्तिलाई केही घण्टासम्म थुनामा राखी जुत्ता र न्यानो कपडा खोल्न लगाइयो । त्यसपछि उनीहरूलाई टर्कीतिर पैदलै फिर्ता पठाइयो । हिमपात भइरहेको त्यो बेला टर्कीतर्फ फर्कंदै गरेका १९ आप्रवासीको चिसोले कठ्यांग्रिएर बाटोमै मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशन गरे । टर्कीस्थित गैर आवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङ हिमपात र अत्यधिक चिसोसँग जुध्दै फर्किनेको समूहमा आठजना नेपाली रहेको सूचना आफूले पाए पनि मृत्यु हुनेमध्ये नेपाली थिए÷थिएनन् भन्नेचाहिं थाहा पाउन नसकेको बताउँछन् ।
संसारभरि फैलिएको आप्रवासीको सामूहिक मृत्युको यो खबरले बैतडीका दिव्यदेव अवस्थीको परिवारलाई झस्कायो । यो त्यही बेला थियो जब दिव्यदेव इस्तानबुलबाट अवैध बाटो हुँदै ग्रीसतर्फ लागेका थिए । दिव्यदेवका भिनाजु वीरेन्द्रराज जोशीले ग्रीस जान हिंडेको टोलीमा आठजना भए पनि सातजनामात्रै टर्की फर्केको सूचना आफूलाई प्राप्त भएपछि झनै आत्तिएको बताए । उनका अनुसार १७ माघ २०७८ बाट सम्पर्कहीन भएका दिव्यदेवको अझै अत्तोपत्तो छैन । ‘दिव्यको खबर थाहा पाउन हामी छट्पटाएका छौं तर, यकिन सूचना पाउन सकेका छैनौं’, जोशी भन्छन् ।
मृत्यु भएका आप्रवासीको सूचीमा पो दिव्यको नाम छ कि भनेर उनको परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखादेखि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोसम्म निवेदन दिए । ब्युरोका पूर्व प्रमुख राई दिव्यबारे थाहा पाउन प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत पत्राचार गरिए पनि कुनै खबर नआएको बताउँछन् ।
करिब दुई वर्षअघि २५ कात्तिक २०७८ मा पनि ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वको सीमावर्ती क्षेत्रमा आप्रवासी सवार गाडी दुर्घटनामा प¥यो । तीव्र गतिका कारण भएको उक्त कार दुर्घटनामा ७ आप्रवासीको मृत्यु भएको थियो । दुर्घटनालगत्तै नेपालमा रहेका परिवारले टर्कीबाट ग्रीसतर्फ लाग्दा सम्पर्कहीन भएका आफन्तको खोजी सुरू गरे । उनीहरू प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेपछि ब्युरोले इन्टरपोलको सहायतामा उक्त दुर्घटनामा मृत्यु भएका सबैको फोटो झिकायो ।
घटनाको ४० दिनपछि अर्थात् ५ पुसमा आफन्तले फोटो हेरेका भरमा मृतकको पहिचान गरे– जसमा दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापा थिए । घटनामा मृत्यु हुनेमध्ये लक्ष्मण र राजु कामदार भिसामा दुबई हुँदै टर्की पुगेका थिए । रसुवाको दुर्गम गाउँकी शर्मिला भने यसअघि १९ वर्षको उमेरमा इराक पुगेकी थिइन् । प्रतिबन्ध हुँदा हुँदै पनि इराक पुगेकी उनी त्यहाँबाट अवैध रूपमै टर्की छिरेकी थिइन् । दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका ओमबहादुर थापा मगर भने त्यहींबाट मानव तस्करको सहयोगमा टर्की पुगेका थिए । दुर्घटनामा घाइते भएका कैलालीका लोकराज आचार्यले जंगलको बाटो १३ दिनसम्म हिंडेर ग्रीसको सीमाछेउ पुगेको र त्यहाँबाट गाडी चढेर ग्रीस पस्ने क्रममा दुर्घटना भएको बताए ।
सुख खोज्दा दुखमात्रै
सम्बन्धित परिवारका अनुसार संगठित मानव तस्करका विभिन्न एजेन्ट मार्फत टर्की पुग्नेले औसतमा १० देखि १५ लाख खर्च गर्छन्– जसमा एजेन्ट खर्च, विमान टिकट र खाने÷बस्ने खर्च पनि जोडिएको हुन्छ । ग्रीस जानका लागि नवीनसँगै नेपालबाट हिंडेका रोहितले इस्तानबुलमा बस्ने एजेन्ट आशीष घिमिरेलाई थप २ हजार ९ सय डलर बुझाएपछि मात्रै पाकिस्तानी एजेन्टमार्फत ग्रीसतर्फ लाग्न पाएका थिए ।
ग्रीस जाने अवैध बाटो कतिसम्म सकसपूर्ण छ भने यस्तो बाटो रोज्नेहरू हिंसा, यातना र दुर्घटनामा मात्रै पर्दैनन्– कहिले सुरक्षाकर्मीबाट पक्राउ पर्ने त कहिले बन्धक बनाइने सम्भावना पनि उत्तिकै हुन्छ । जस्तो कि, ४ अप्रिल २०२२ मा टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ जना नेपालीलाई ग्रीस जाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । त्यसको केही दिनपछि २६ अप्रिलमा टर्कीको ताक्सिम स्क्वायरमा चारजना नेपालीलाई छजना पाकिस्तानी हतियारधारीले बन्धक बनाएका थिए । टर्कीबाट ग्रीस लैजाने एजेन्टको रूपमा ती पाकिस्तानीसँग नेपालीको भेट भएको थियो । दुई पुरुष र दुई महिला नेपाली बन्धक भएको खबर थाहा पाएपछि टर्की प्रहरीले बन्धक बनाउने एक सदस्यलाई पक्राउ गरी नेपालीलाई छुटाउन सफल भएको थियो ।
सन २०१६ र २०१७ का चार महिना ग्रीसको ठूलोमध्येको आप्रवासी शिविर, मोरिया क्याम्पमा काम गरेका एक दोभाषेका अनुसार टर्कीबाट ग्रीस जानेमध्ये अधिकांश नेपाली मानव तस्करकै सहायतामा जान्छन् । संस्थागत आबद्धताका कारण नाम उल्लेख गर्न नचाहने उनी भन्छन्– ‘एजेन्टले समूह बनाएर बिहानको तीन–चार बजे नै हिंडाउने रहेछन् । बाटोमा पर्ने ठूलो नदी तर्न सानो डुंगामा कोचाकोच मानिस हालिन्छन् ।’ उनका अनुसार यसरी ग्रीस पुगेका व्यक्तिले शरणार्थी बन्नका लागि आवेदन दिने क्रममा आफू नेपालमा सशस्त्र हिंसा वा जातीय दंगाको शिकार भएकोले स्वदेश फर्किन नसक्ने तर्क प्रस्तुत गर्छन् ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा टर्कीमा आकर्षक रोजगारीको प्रलोभनबाट ठगिएका ३७ उजुरी परेका थिए । आ.व. २०७६÷७७ मा भने टर्की लगिदिने भन्दै ३९ लाख रुपैयाँ ठगेको एउटामात्र उजुरी परेको थियो । यस्तो ठगीको उजुरी दिने आ.व. २०७७÷७८ मा चारजना थिए । उजुरीमा यी चारै जनाबाट एजेन्टले जनही साढे २२ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइराला टर्की र ग्रीस लगिदिने भन्दै ठग्नेको संख्या ठूलो भए पनि उजुरी निकै कम पर्ने गरेको बताउँछन् ।
२७ जेठ २०७५ मा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भने यस्तो उजुरी एउटामात्रै परेको छ । मोरङको पथरी शनिश्चरे–१४ घर भई काठमाडौंको टोखा–३ बस्ने ‘बबरमहल ६१’ (प्रहरी मिसिलमा परिवर्तित नाम) ले आफू र छोरीलाई समेत आकर्षक रोजगारीको प्रलोभन देखाएर टर्की पु¥याई अलपत्र पारेको भन्दै ५ फागुन २०७७ मा उजुरी दिएकी थिइन् । बूढानीलकण्ठमा फेन्सी पसल सञ्चालन गर्ने ‘बबरमहल ६१’ लाई अनील डंगोलले जानुका लामा घिसिङसँग सम्पर्क गराइदिएका थिए । जानुकाले दुवै आमाछोरीलाई ग्रीसमा मासिक ८० देखि ९० हजार रुपैयाँ आम्दानी हुने काम लगाइदिने प्रलोभन देखाइन् । त्यसपछि जानुकामार्फत आमाछोरीले स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका लागि गोंगबूमा औषधि पसल सञ्चालन गर्ने पूर्णिमा बस्नेतलाई भेटे । पूर्णिमाले उनीहरूको सम्पर्क आफ्ना बाबु भन्दै लक्की सिंह भनिने किस्मत सिंहसँग इमो मार्फत गराइन् । विदेश जानकै लागि उनीहरूले टोखामा रहेको चार आना जग्गा बेचेर पूर्णिमालाई आठ लाख रुपैयाँ दिए ।
२२ असोज २०७७ मा टर्की पुगेका आमाछोरीलाई लक्कीले काम मिलाइदिने भन्दै करिब तीन महिनासम्म बन्धकजस्तै बनाएर राखे । एकदिन लक्कीले आमालाई काम लगाइदिने भन्दै टर्कीको सीमा क्षेत्रमा पु¥याए, छोरी कोठामै थिइन् । त्यसैबेला छोरीचाहिं टर्कीस्थित गैर आवासीय नेपाली संघको सम्पर्कमा पुग्न सफल भइछन् । संघकै पहलमा उनी ८ मंसिर २०७७ मा नेपाल फर्किइन् । आमालाई भने लक्कीले ग्रीस लैजाने भन्दै चार पटकसम्म जंगलमा हिंडाउँदै फर्काउँदै गरे । ‘बबरमहल ६१’ ले प्रहरी बयानमा भनेकी छन्– ‘ग्रीस छिर्न जंगलको बाटो हिंडिरहेका बेला एकजना पाकिस्तानी मरेको देखेपछि म बरु आत्महत्या गर्छु अघि बढ्दिनँ भनेर रोईकराई गरें र, मलाई लक्कीले फिर्ता ल्यायो ।’
प्रहरीमा उनले गरेको बयानअनुसार लक्कीले यस प्रक्रियामा संलग्न ‘पूर्णिमा र जानुकालाई केही गर्ने छैन’ भन्ने व्यहोराको कागज गराएपछि मात्रै उनलाई नेपाल फर्काउन तयार भएका थिए । नेपाल फर्केपछि भने आमाछोरीले आफूहरू ठगिएको र करिब रु.२० लाख गुमाएको जाहेरी प्रहरीमा दिए । यही जाहेरीका आधारमा प्रहरीले बाफलस्थित श्रम कार्यालयबाहिर बसेर काम गर्नेे एजेन्ट जीवन भट्टलाई काठमाडौंको तारकेश्वरबाट र पूर्णिमा बस्नेतलाई माछापोखरीबाट पक्राउ ग¥यो । १८ चैत २०७७ मा काठमाडौं जिल्ला अदालतले मुख्य प्रतिवादी जीवन भट्टलाई तीन लाख धरौटीमा र पूर्णिमा बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । घटनामा जोडिएका अर्का प्रतिवादी लक्की सिंहलाई पक्राउ गर्न प्रहरीले इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गराउने प्रयासमा छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अमेरिकासँगै युरोपका ग्रीस, टर्की, क्रोएसिया र रोमानिया पठाइदिने संगठित मानव तस्करको गिरोह नेपालमा सक्रिय छ । यी तस्करले भारतीय र पाकिस्तानी गिरोहअन्तर्गत रहेर अवैध रूपमा सीमाना कटाउने काम गर्छन् । टर्की हुँदै ग्रीस पस्न खोज्ने धेरै नेपालीको अपेक्षा भने राम्रो काम पाए ग्रीसमै बस्ने, नपाए पोर्चुगलतर्फ लाग्ने हुन्छ ।
ब्युरोका अनुसार पछिल्ला दुई वर्षमा संगठित मानव तस्करले अवैध रूपमा अमेरिका पु¥याएका १ सय ५० जना नेपाली घर फर्काइए तर, यीमध्ये तीनजनाले मात्रै प्रहरीमा उजुरी दिएका छन् । ग्रीस र टर्कीका लागि समेत राजदूत रहेका पाकिस्तानका लागि आवासीय नेपाली राजदूत तपस अधिकारी पनि पछिल्लो डेढ वर्षमा टर्कीबाट दुई नेपालीको ‘केस’ मात्रै आफूकहाँ आएकोे बताउँछन् । ‘ती दुई केस पनि टर्कीमा कामदार भिसा सकिएपछि मृत्यु भएका नेपालीका थिए’, उनी भन्छन् ।
आप्रवासीहरूको सामूहिक मृत्यु भएको पछिल्लो घटनाबारे भने दूतावासले टर्की सरकारसँग सोधखोज गर्दा उक्त घटनामा कोही नेपाली नपरेको खबर आएको उनले बताए । अवैध बाटोबाट यात्रा गर्दा हुने मृत्यु, बेपत्ता, दुर्घटना र अन्य दुःखका खबर सार्वजनिक भइरहँदा पनि लाखौं खर्च गरेर टर्की–ग्रीसको यात्रा गर्ने क्रम भने रोकिएको छैन ।
‘कसलाई सोधौं ?’
यमकला तिवारीले घरको भित्तामा झुण्डिएका छोरा नवीनका सबै तस्बिर हटाएकी छन् । तर पनि बेपत्ता भएको छोराको सम्झनाले सताउन छोड्दैन । पिंढीमा बसेका बेला उनका आँखा सधैं पर–परसम्म पुगेर टोलाउँछन् । भेट हुने प्रत्येक नौला मान्छेले छोराकै खबर ल्याए कि झैं लाग्छ । नचिनेको नम्बरबाट आउने फोनका प्रत्येक घण्टीले छोराको आवाज सुन्ने उत्कट तिर्सना बढाइदिन्छन् । गत फागुन दोस्रो साता कावासोती–४ मा यमकलाको घर पुग्दा उनी उदासीमा कतै हराएकी जस्ती देखिन्थिन् ।
१२ कक्षा पास गरेका नवीन बिहे भोजका भिडियो खिच्ने काम गर्थे । भिडियोको कमाइले नपुग्ने भएपछि टर्की जाने तारतम्य मिलाइवरि उनले आमालाई बिदेसिने योजना सुनाएका थिए । धेरै कमाइका लागि विदेश जान लागेको भन्दै छोराले आश्वस्त पारेपछि यमकला आफैं साइत हेराउन पण्डितकहाँ पुगेकी थिइन् । पण्डितले तोकिदिएको ‘शुभ–साइत’ १५ कात्तिक २०७५ मा घरबाट हिंडेका नवीनको दशा टर्की पुगेपछि बिग्रियो ।
हराएको छोराको खबर कसले ल्याइदेला ? यमकलालाई थाहा छैन । अवैध बाटो गएको भन्ने थाहा पाएकी उनले सरकारलाई सोध्न पनि सक्दिनन् । पठाउने तारतम्य मिलाएका ज्वाइँलाई सोधौं भने पनि यही कुराले छोरीको घरबार बिग्रेला कि भन्ने डर छ । भन्छिन्– ‘मैले छोराको खोजखबर गर्दा अरूलाई पीर पर्छ कि भन्ने डर हुन्छ ।’
वि.सं. २०५७ मा पति बितेपछि यमकलाले दुई छोराको अनुहार हेरेर चित्त बुझाइन् । अहिले कान्छो नवीन बेपत्ता भएपछि उनको पीर दोब्बर भएर बल्झिएको छ । छोराको खबर पत्ता लगाउन हात हेराउनेदेखि मठमन्दिरमा भाकल गर्नेसम्म सके जति सबै गरिन् । ‘अब त देवीदेउताको भर लाग्न छाड्यो‘ उनी भन्छिन्– ‘दुःख सहेर हुर्काएको तन्नेरी छोरो परदेशमा हरायो, यस्तो कसैलाई नहोओस् ।’ खोज पत्रकारिता केन्द्र


