नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर आज बिहानदेखि सुरु गरिएको हो ।
बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन आयोगले बताएको छ । भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुँदै छ।
लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।


