संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलवार) शोक बिदा दिएको छ । अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली सहित आज शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले बताएका छन् ।
उनको निधनसँगै गृह जिल्ला इलाम शोकमा डुबेको छ । नेम्वाङको निधन पछि नेकपा एमाले जिल्ला पार्टी कार्यालय इलाममा एमाले कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको झन्डा भुकाइएको छ । एमालेले पार्टी कार्यालयमा शोक पुस्तिका राखेको छ ।
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पुर्याएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताए ।
गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उनले भने, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।”
“उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो”, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, “उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।”


