Banijya News

वाग्मतीमा मन्त्रालयको संख्या १४ बाट सातमा झार्ने तयारी

1
1.2K Shares

वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी थालेको छ । प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको संख्या १४ बाट सातमा झार्ने तयारी थालेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई मन्त्रालयको संख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र बुझाएको थियो ।

प्रमुख प्रतिपक्ष दलको ज्ञापनपत्रपछि केही दिनअघि बसेको सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको संयुक्त बैठकमा प्रदेश सरकारको मन्त्रालय घटाउने विषयमा सहमति भएपछि सरकार मन्त्रालयको संख्या घटाउने गृहकार्यमा जुटेको हो ।

“सत्तारूढ दलको संयुक्त बैठकमा मन्त्रालयको संख्या घटाउने सैद्धान्तिक सहमति भएसँगै सरकारले एउटा समिति नै बनाएर यस विषयमा अध्ययन सुरु गरिसकेको छ,” मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, “मन्त्रालयको संख्या कति घटाउने ? कुनकुन मन्त्रालय राख्ने ? कुनकुन मन्त्रालय समायोजन गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्नेलगायतका विषयमा समितिले अध्ययन गरिरहेको छ ।”

प्रदेश सरकारको मन्त्रालयको घटाउने विषयमा दलहरू सहमत रहेकाले मन्त्रालयको संख्या घटाउने विषयमा ठोस निर्णयमा पुग्न प्रक्रिया सुरु गरिसकेको मुख्यमन्त्री बानियाँको भनाइ छ ।

“अहिलेको परिस्थिति फेरिएको छ, हामी केवल मन्त्रालयको संख्या घटाउने भनेर मात्र होइन, कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छौँ,” मुख्यमन्त्री बानियाँले भने, “पहिलो चरणमा दलीय सहमति जुटाउने र त्यसपछि विज्ञहरूको सुझाव सल्लाहअनुसार मन्त्रालयको संख्या घटाउने र व्यवस्थापन गर्ने निचोडमा पुग्छौँ ।”

मन्त्रालयको संख्या घटाउने विषय विशुद्ध प्रशासनिक सुधार र वित्तीय अनुशासनसँग जोडिएको विषय भएकाले दलीय सहमतिकै आधारमा टुंगो लगाउने मुख्यमन्त्री बानियाँले बताए ।

1

Scroll to Top