May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

बालेनका सारथी प्रदीप उस्तै

बालेनका सारथी प्रदीप उस्तै

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नीतिगत विभादका कारण चर्चामा आएका वसन्त अधिकारी महानगरबाट विदा भएपछि सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्रदीप परियारलाई पठाउँने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो ।

Advertisement

युवा तथा कान्छा सहसचिव परियारका लागि यो निकै राम्रो अवसर पनि हो भने त्यतिकै चुनौती पनि छ । संघीय राजधानीस्थित ठुलो महानगरका रूपमा रहेको काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदलाई निकै महत्वका साथ हेरिने गरिन्छ । जहाँ जानका लागि निकै दौडधुप चल्दै आएको छ । अन्य पालिकाहरूका लागिसमेत सिकाई हुने गरी काम गर्नुपर्ने एकातिर छ भने मेयर साहको सपनालाई कार्यान्वयन गर्नु अर्कातिर ।

Advertisement

काठमाडौं महानगरपालिकाका नयाँ प्रशासकीय अभिभावक प्रदीपले फलेवासकै सरकारी स्कुल भवानी विद्यापिठबाट १० कक्षासम्म पढेका थिए । उनी स्कुलका कक्षा देखि आफूले दिएका अधिकांस परीक्षमा प्रथम नै भएका पात्र हुन् ।
शान इन्टरनेसनलबाट प्लस टु पास गरेका प्रदीपले पब्लिक युथ क्याम्पसबाट स्नातक गरे । अस्ट्रेलिया सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर गरेका छन् ।

३२ वर्षकै उमेरमा सहसचिव बन्न सफल व्यक्ति हुन् उनी । पर्वत फलेवासका प्रदीपले चैत २०७८ मा खुल्ला प्रतिस्पर्धामा सहसचिवमा नाम निकालेका थिए । त्यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत थिए ।

निजामती सेवामा उनको यात्रा ११ वर्ष भइसकेको छ । उनी २०६९ सालदेखि नायब सुब्बाका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । तर, सोही वर्ष उनी शाखा अधिकृतमा भिँडे । फ्याट्टै नाम पनि निकाले । निजामती सेवामा एक वर्ष परीक्षणकाल पूरा नगर्दै उनी शाखा अधिकृत भएर काम गर्न थालेका थिए ।

उपसचिवको लिखितमा तीनपल्ट नाम निकाले मैखिकमा फालिएका पात्र हुन् । २०६९ सालमै उनले उपसचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएर नाम निकालेका थिए । परराष्ट्रको उपसचिवमा पनि उनी सफल भएका थिए । यो लिखितमा पाएको सफलता थियो । अन्तर्वार्तामा नछानिएकाले उनले उपसचिव भएर काम गर्न पाएनन् । प्रदीपले सहसचिव खुलामा समेत लिखितमा दुईपल्ट नाम निकालेका थिए तर अन्तर्वार्तामा फालिए । २०७७ सालमा पनि उनी अन्तर्वार्तामै बिफल भएका थिए । तर, उनले प्रयास छोडेनन् र २०७८ मा लिखित र अन्तर्वार्तामा सफल भएरै छाडे । यसरी सफल हुनुमा उनका दाजु पनि एक हुन् । सामान्य किसान परिवारमा जन्मेका प्रदीपका दाइ पनि अधिकृत पदमा सरकारी सेवामै छन् । उनी आफ्ना भाइलाई बारम्बार लोकसेवामा प्रतिस्पर्धा गर्नको लागि प्रेरित गर्ने गरेका थिए । यही कारण उनी अष्ट्रेलियाबाट नेपाल आएका थिए ।

उनी काठमाडौं महानगरपालिकामा नै पठाइनुको कराण मेयर बालेनसँँग केही कुरा मिल्नु पनि हो । परियार आफैपनि विद्रोही स्वभावका छन् । मेयर बालेन र प्रमुख कार्यकारी प्रदीप एकै महिना जन्मेका हुन् । लोकसेवामा बारम्बर पास भएपनि मौखिकमा फेल हुने गरेका प्रदिप पनि बालेनको जस्तै जसरी पनि प्रशासन सुधार गर्नुनै पर्ने पक्षका पात्र हुन् । उनी पनि बालेन जस्तै प्रशासनिक क्षेत्रमा क्लिन अधिकृत भएको चर्चा हुने गरेको छ ।