May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

कांग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेतामा कृष्ण प्रसाद सिटौला

कांग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेतामा कृष्ण प्रसाद सिटौला

नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन् ।

Advertisement

सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

Advertisement

राष्ट्रियसभा अध्यक्ष हुने उद्देश्यका साथ माघ ११ मा राष्ट्रियसभा सदस्य चुनाव लडेको कांग्रेस नेता कृष्णप्रसाद सिटौला नयाँ राजनीतिक घटनाक्रम विकसित भएपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता भएका हुन् ।
राष्ट्रियसभा अध्यक्ष बन्ने तयारीका साथ राष्ट्रियसभा सदस्य जितेर आएका सिटौला माओवादीसँगको गठबन्धन भत्किएर कांग्रेस प्रतिपक्षीमा पुगेपछि अध्यक्षको उम्मेदवार नबन्ने अवस्थामा पुगेका थिए । प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसको राष्ट्रियसभामा बहुमत नरहेकाले कांग्रेसका उम्मेदवारले जित्ने सम्भावना छैन । त्यसैले सिटौला अध्यक्ष उम्मेदवार नबनी संसदीय दलको नेता बनेका हुन् ।

कांग्रेसले २९ फागुनमा हुने राष्ट्रियसभा अध्यक्षको चुनावका लागि अन्तिम समयमा उम्मेदवार तय गर्नेछ । शनिबार कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको अर्जुननरसिंह केसीले बताए । बैठकमा बदलिँदो परिस्थिति र नयाँ गठबन्धनपछिका बारेमा छलफल भएको थियो । उनका अनुसार व्यक्ति तोकिएको छैन । ‘व्यक्तिको बारेमा आइतबारसम्ममा अन्य दलसँग छलफल गरेपछि टुंगो लाग्छ,’ केसीले भने ।

११ माघमा भएको राष्ट्रियसभा सदस्यको चुनावमा कोशीबाट उम्मेदवार बनेकी माओवादीकी चम्पादेवी कार्की पराजित भइन् । कांग्रेसको एक समूहले मत नदिँदा मतभार धेरै हुँदाहुँदै पनि कांग्रेस–माओवादी गठबन्धनकी साझा उम्मेदवार कार्की पराजित भएपछि गठबन्धनमा अविश्वासको कारण मध्येको एक कारण राष्ट्रियसभा सदस्यको चुनाव बन्न पुगेको थियो ।

पछिल्लो प्रतिनिधिसभा चुनाव हारेका सिटौलालाई अध्यक्ष बनाउन ‘अपवाद’ मान्दै कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको टिकट दिएको थियो । २० फागुनमा कांग्रेससहितको ८ दलीय गठबन्धन भत्किएर एमाले–माओवादीसहितको पाँच दलीय नयाँ सत्ता गठबन्धन बनेपछि राष्ट्रियसभाको अंकगणित फेरिएको छ ।

नयाँ गठबन्धनमा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ । हाल उपाध्यक्ष माओवादीकी उर्मिला अर्याल छिन् । उनलाई राजीनामा गराएर एमालेका लागि माओवादीले उपाध्यक्षको ठाउँ खाली गर्नेछ । राष्ट्रियसभामा नयाँ सत्ता गठबन्धनको सहज बहुमत छ । ५९ सदस्यीय राष्ट्रियसभामा एकजना मनोनीत गर्न बाँकी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने सदस्य पनि गठबन्धनकै हुनेछ । राष्ट्रियसभाको ठूलो दल माओवादीसँग एक जना मनोनीत र राष्ट्रियसभा उपाध्यक्षसहित १८ सदस्य छन् । गठबन्धनको अर्को दल एमालेका १० सांसद छन् । एकीकृत समाजवादीसँग ८, जसपाका ३ सांसद छन् । यसरी हेर्दा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्तारुढसँग छ । सत्ता समीकरण अनुसार अहिलेको सत्ता साझेदार तेस्रो दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन ।

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का एक, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् ।

सरकारको आयु कम देखेको कांग्रेसले एमालेसँग सहकार्य गर्ने एक विकल्प राष्ट्रियसभाको अध्यक्ष चुनाव हुनसक्छ । उपाध्यक्ष एमालेको भागमा परेपछि बहालवाला उपाध्यक्ष अर्यालले राजीनामा दिएपछि रिक्त पदमा चुनाव हुने सम्भावना छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा चुनाव भएमा कांग्रेसले एमालेलाई सजिलो पार्न सक्छ । कांग्रेसले एमालेसँग सहकार्य गर्ने नीति लिए पनि त्यसको कार्यान्वयन बिस्तारै गर्नेछ । उसले एमाले उम्मेदवार रहन सक्ने उपाध्यक्षमा उम्मेदवारी नदिन सक्छ ।