आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।
संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण चुनाव हुन सकेन । चुनाव नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।
२०६२ साल मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ साल फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।नयाँ वर्षसँगै लाखौँ नागरिक सडकमा आए । त्यसपछि ज्ञानेन्द्र शाह दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा उनले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले वैशाख ११ गतेलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिनलाई नै गणतन्त्रको जगको रूपमा लिइन्छ । २०६३ साल जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो ।
बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभा चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । २०६४ साल चैत २८ गते पहिलो संविधान सभा चुनाव भयो । संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।२०७० साल मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो । संविधानबमोजिम तीनै तहको चुनाव भइ संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।


