नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि नयाँ पार्टी गठनको तयारीमा रहेकै बेला डा. भट्टराईले प्रचण्डसँग छलफल गरेको जनाईएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनयुद्धकालीन दुई सहकर्मीबीच छलफल भएको हो । पछिल्ला दिन जसपा पुनर्गठन अभियानमा लागेका बाबुरामले समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारेका छन् । भट्टराईलाई माओवादी पार्टीभित्र ल्याउनुपर्ने एकथरी नेताहरुले प्रस्ताव पनि गरेका छन् ।
स्रोतका अनुसार डा. भट्टराई माओवादी केन्द्रमै मिसिन तयार छैनन्, उनले नाम परिवर्तन भए सोच्न सकिने जनाएका छन् । भट्टराईको कुरामा प्रचण्ड पनि सकारात्मक रहेको जनाईएको थियो । यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो । त्यस बेलाको छलफल पनि सकारात्मक रहेको जनाईएको थियो । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धन बन्ने निश्चित भएकै बेला बाबुरामको अवस्था के हुने ? यही विषयमा पनि छलफल भएको नेताहरुले जनाएका छन् ।


