Banijya News

प्रचण्ड साउन २१ गते जापान जाँदै

1
1.1K Shares

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिन लामो भ्रमणका लागि जापान जाने भएका छन् । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन प्रचण्ड आगामी साउन २१ गते जापान जान लागेका हुन् । उनको सचिवालयका अनुसार भ्रमण दलमा प्रचण्डसहित चारजना हुनेछन् । सचिवालयका अनुसार भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन् । उनले साउन २३ गते जनप्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन् । त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।

उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जानकारी दिएको छ । त्यसपछि प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन् । त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ । प्रचण्डको सचिवालयले जापान भ्रमणका क्रममा त्यहाँको राजनीतिक नेतृत्वसँग भेटघाटबारे केही पनि पुष्टि गरेको छैन । प्रचण्डको भ्रमण र भेटघाट तालिका अहिले त्यहाँस्थित नेपाली दूतावासमार्फत मिलाइँदैछ । प्रचण्ड यसअघि असार ३१ मा भारत गएका थिए । त्यहाँ गएर उनले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा उनी भारत पुगेका थिए ।

1

Scroll to Top