परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ वि देशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उनी आगामी २६ गतेसम्म चीन भ्रमणमा रहने जनाइएको छ । उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । हाल कोभिडपछि बन्द रहेको चीनसँगको व्यापारिक नाका र विगतमा भएङ्का प्रोटोकल सन्धिको विषयलाई जोडेर टिप्पणी भइरहेको छ । परराष्ट्रमन्त्री खड्काको भ्रमणले चीनसँगको व्यापारिक सम्बन्ध सुधार हुने अपेक्षा रहेको परराष्ट्र मन्त्रालयका अधिकारी जनाउँछन् । कोभिडयता चीनले मुस्किलले आफ्नो सीमा क्षेत्रबाट ओहोरदोहोरको सुविधा दिइरहेको छ । नेपालको निर्यात व्यापार ठप्पप्रायः छ । एक किसिमले चीनले नेपालमाथि नाकाबन्दी लगाइरहेको छ ।
भारतपरस्त र पश्चिमा राष्ट्रहरूसँग बढी हिमचिम गरेको आरोप लाग्ने शेरबहादुर देउवाले पछिल्लो पटक प्रधानमन्त्री भएपछि चीनसँगको सम्बन्ध विस्तारको क्रममा ब्रेक लगाएका थिए । यसअघि चीनले नेपालले एमसीसी अनुमोदन गरेको विषयलाई गम्भीरतापूर्ण लिएको थियो । अर्कोतर्फ एसपीपीमा नेपाल सहभागी नहुने निर्णयको चीनले स्वागत गरिसकेको छ । त्यस्तै अमेरिकी उपमन्त्री तथा तिब्बत मामिलासम्बन्धी विशेष संयोजक उज्रा जोयाको नेपाल भ्रमणप्रति चीनले चिन्ता व्यक्त गरेको थियो ।परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् । गत मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए ।


