Banijya News

बैंकहरूले बढाएको ब्याजदर घटाउन आग्रह

1
1.1K Shares

बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो ।

पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने लगायतका माग राख्दै संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका लागि संघका अध्यक्ष प्रजापतिको संयोजकत्वमा एक सय एक सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य संघ सहित देशका निजी क्षेत्रसँग सम्बद्ध संघ र संस्थाहरूले आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने मुख्यमन्त्री पोखरेलले आश्वासन दिए ।

“यस विषयमा प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूका प्रमुखसँग छलफल गरेर समस्या समाधानको पहल गर्नेछ”, उनले भने । प्रतिनिधिमण्डले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसँग पनि भेटघाट गरी यो समस्याबारे जानकारी गराएका छन् ।

1

Scroll to Top