नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताएका छन् । साथै, पार्टी फुट्छ कि भनेर आशंका नगर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् ।
शुक्रबार (पुस १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्र एकताको विषयमा उठेका आशंका निराधार भएको उल्लेख गर्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गरे ।
“विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ,” उनले भने ।
यस्तै, अहिलेको अवस्थामा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको उनको भनाइ थियो ।
“यो परिस्थितिमा कांग्रेस पार्टीको महाधिवेशन गरेरै, नेतृत्व, नीति र दृष्टिकोण सबै बनाएरै जानुपथ्र्यो । त्यसका लागि हामीले महाधिवेशनको मिति तय गर्यौँ । तर, त्यो मितिमा मात्र सिमित रह्यो त्यसपछि हामीले सूचना जारी गरेर जानकारी दिएका हौँ,” उनले भने ।
शर्माले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने जानकारी दिए ।
कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन् ।


