Banijya News

अन्ततः गले ओली, दिए बयान

1
1.1K Shares

भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समेत बयान लिने भनिरहँदा ओलीले बयान नदिने अडान लिएका थिए । ‘गोली ठोके हुन्छ, बयान दिन्न’ भन्ने कडा अडानमा रहेका पूर्वप्रधानमन्त्री ओलीले अन्ततः लिखित बयान दिएका छन् ।

सो घटनाका सम्बन्धमा आयोगको टोलीले आइतबार पूर्वप्रधानमन्त्री ओलीको निजी निवास, भक्तपुरको गुण्डु पुगेर बयान लिएको हो । एमाले अध्यक्ष ओलीलाई बयानका लागि पत्र थमाउन आयोगका कर्मचारी उनको निवास पुगेका थिए । तर, ओलीले टोलीलाई लिखित बयान थमाएर पठाएका हुन् । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, आयोगको टोली करिब डेढ घण्टा ओली निवासमा बसेको थियो । टोलीले कुरा सुने पनि औपचारिक बयान भने लिखित रूपमा मात्रै लिइएको हो । अब उक्त घटनामा बयान लिने प्रक्रिया सकिएको आयोगले जनाएको छ । प्रवक्ता शर्माका अनुसार आयोगले १ सय ५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ । अब प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी भइरहेको छ ।

यसअघि गत सोमबार पूर्वगृहमन्त्री रमेश लेखकले आयोगमै पुगेर बयान दिइसकेका छन् । बयान सकिएपछि काँग्रेस नेता लेखकको स्थानहद फुकुवा गरिएको थियो ।

गत असोज १२ गते बसेको आयोगको बैठकले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको थियो ।

अवकाशलगत्तै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई पनि स्थानहद तोकिएको थियो । बयान सकिएसँगै ओलीबाहेक सबैको स्थानहद फुकुवा भइसकेको छ । अब ओलीको पनि स्थानहद फुकुवा हुने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।

भदौ २३ गते बिहान राजधानीलगायत देशका मुख्य सहरमा ठूलो संख्यामा युवा–जनताको समूह ‘जेन–जी आन्दोलन’को नारासहित सडकमा उत्रिएको थियो । आन्दोलनकारीले भ्रष्टाचार, कुशासन, बेरोजगारी र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी गम्भीर गुनासो उठाएका थिए । आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो । भोलिपल्ट भदौ २४ मा आन्दोलनले उग्र रुप लियो । केही समूहले सिंहदरबार, संसद् भवनलगायत सरकारी संरचनाहरूमा आगजनी, तोडफोड गर्नुका साथै तथा निजी भवनहरुमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

बालुवाटारमा पनि प्रदर्शनकारी आगजनी गर्दै पुगेपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । जेन–जी युवाको नेतृत्वमा सुरु भएको आन्दोलनले ल्याएको परिवर्तनसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाए । र, फागुन २१ गते निर्वाचन गर्ने गरी कार्यभार सुम्पिए । त्यही सरकारले लगत्तै प्रतिनिधिसभा विघटन गरेको थियो ।

कार्की सरकारले भदौ २३ र २४ का हत्या–हिंसा र आगजनीका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनायो । उक्त समितिले अध्ययन, अनुसन्धान गर्ने क्रममा तत्कालीन सरकारका प्रधानमन्त्री ओली र जिम्मेवार अन्य अधिकारीसँग बयान लिने तय गरेको थियो । तर, ओलीले कुनै हालतमा बयान नदिने बताउँदै आएका थिए । अन्ततः ओलीले बयान दिएसँगै बयान लिने क्रम सकिएको हो ।

ओलीको निवासमै पुगेर बयान लिइएको कदमले केहीले आयोगप्रतिको विश्वासमा शंका ल्याएको बताइरहेका छन् । तर, आयोग भने कुनै व्यक्ति विशेषलाई संरक्षण नदिने, सत्यलाई अघि बढाउने दाबी गर्दै अगाडि बढिरहेको देखिन्छ । राजनीतिक विश्लेषकहरूले आयोगले प्रतिवेदन सार्वजनिक गर्दा देशभरिका घटनाहरूको जिम्मेवारी र दोषीहरूलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

1

Scroll to Top