नेपाली काँग्रेसका १७ भ्रातृ सङ्गठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ सङ्गठनले विपक्षमा संयुक्त अपिल जारी गरेका हुन् ।
अपिलमा भनिएको छ– ‘हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ । नेपाली काँग्रेसका सभापति पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौँ । नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचनसमेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन ।’
यो समयमा सबै नेता कार्यकर्ताहरू तथा शुभेच्छुकहरुलाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्वलाई स्वीकार गरेर सहमतिमार्फत नै अघि बढ्न अनुरोध गरेका छन् ।
पुस २२ गते कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा पार्टीका पूर्व उपसभापति नेता विमलेन्द्र निधिलगायत अन्य नेताहरूप्रति भएको अपमानजनक व्यवहारको निन्दासमेत गरेका छन् ।


