आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेद्वार चयन गरिरहेका छन् । यस क्रममा दलका शीर्ष नेताहरु समेत आफूलाई सुरक्षित गराउने ध्याउन्नमा लागेका छन् । यसमा अग्रपंक्तिमा रहेका छन्, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ।
विभिन्न जिल्ला चहारेका दाहालले रूकुम पूर्वमा आफू सुरक्षित हुने निश्चित गरी पूर्वी रुकुमबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । त्यस क्षेत्रमा नेकपाले उम्मेदवारीको टुङ्गो नलगाएपछि दाहाल उठ्ने पक्कापक्की भइसकेको छ । आउँदो निर्वाचनका लागि दाहाल कञ्चनपुर, रूकुम पूर्व, रोल्पा, गोरखादेखि सिन्धुलीसम्मबाट उम्मेद्वार सिफारिस भएका थिए । तीमध्ये रूकुम पूर्व नै सुरक्षित देखिएपछि दाहाल त्यहीँबाट उठ्न राजी भएका हुन् ।
यसअघि दाहालले २०६४ सालमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । दुवै क्षेत्रबाट चुनाव लडेका दाहालले काठमाडौं–१० रोज्दै रोल्पा छाडेका थिए । त्यस्तै, २०७० मा काठमाडौं–१० र सिराहा–५ बाट उम्मेद्वार बनेका दाहाल सिराहाबाट मात्र विजयी बनेका थिए ।
२०७४ को निर्वाचनमा चितवन–३ बाट विजयी बनेका दाहाल २०७९ को आम निर्वाचनमा गोरखा–२ बाट उम्मेद्वार बनेका थिए ।
अहिले उनी रूकुम पूर्वबाट उठ्न लागेका छन् । सशस्त्र द्वन्द्व कालमा रूकुम तत्कालीन माओवादीको आधार क्षेत्र थियो । रुकुम अहिले दुई क्षेत्रमा विभाजित भए पनि पूर्वी रूकुम माओवादीका लागि निकै सुरक्षित मानिन्छ । दाहाल नै जाने भएपछि उनका लागि उक्त क्षेत्र झन् बढी सुरक्षित भएको नेकपाको ठहर छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसले पुराना दलहरूलाई रक्षात्मक बनाइरहेको अवस्थामा दाहालका लागि सुरक्षित ठाउँ खोज्नुपर्ने नेकपाका लागि बाध्यताजस्तै थियो । यसै क्रममा उनले सुरक्षित क्षेत्र रुकुम पूर्व रोजेका हुन् ।
त्यसो त, संयोजक दाहालले दोहो¥याएर उठेका ठाउँमा चुनाव जित्न नसकेको देखिन्छ । यसले गर्दा पनि उनले नयाँ र सुरक्षित क्षेत्र रोज्ने गरेका छन् ।
रुकुम पूर्व कति सुरक्षित ?
यसअघिको निर्वाचन परिणाम हेर्ने हो भने दाहालका लागि यो क्षेत्र सुरक्षित मानिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । त्यति बेला तीन पालिका रहेको रूकुम पूर्वमा तीनैवटा पालिका माओवादी केन्द्रले जितेको थियो ।
२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । त्यति बेला माओवादी केन्द्रकी उम्मेद्वार कमला रोका विजयी भएर सांसद् बनेकी थिइन् । त्यसताका कुल मतदाता २७ हजार ९२८ रहेकोमा माओवादी केन्द्रको समानुपातिक मत ८ हजार ८९१ रहेको थियो ।
त्यस्तै, २०७९ को स्थानीय तह निर्वाचनमा पनि तीनैवटा पालिका माओवादी केन्द्रले नै जितेको थियो । प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार पूर्णबहादुर घर्ती मगर निर्वाचित भएका थिए । यो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । त्यस बेला समानुपातिकतर्फ माओवादीको मत केही घटेको देखिए पनि पहिलो मत नै प्राप्त गरेको थियो ।
त्यस क्षेत्रमा अहिले मतादाता बढेर ३४ हजार ७७२ पुगेको छ । मतदाता बढे पनि संयोजक दाहाललाई चुनाव जित्न समस्या नरहेको नेकपाको बुझाइ छ ।


