काठमाडौं महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशलाई दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । लोकप्रिय नारा नभई इमानदार नेतृत्व चाहिएको उनले उल्लेख गरेका छन् ।
२७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार (माघ २) सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले लेखेका छन्, “स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ– देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ । अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ ।”
उनले आफूहरू राजनीतिमा आउनुको मूल उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको बताएका छन् । जनताको विश्वास जित्ने शासनमा उनले जोड दिएका छन् ।
“नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ । संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्,” उनले लेखेका छन्, “शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस् ।”
यो कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको उनले बताएका छन् । “सबैको साथ, सहयोग र विश्वाससहित अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ,” उनले लेखेका छन् ।
नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र नबन्ने उनले उल्लेख गरेका छन् ।


