Banijya News

हर्क साम्पाङविरुद्ध उजुरी, करवाहीको प्रक्रिया अघि बढ्दै

1
1.1K Shares

धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको भन्दै धरान नगर बाल सञ्जालले आइतबार (माघ ११) उनीविरुद्ध उजुरी दर्ता गराएको हो । निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा साम्पाङमाथि कारबाहीको मागसहित उजुरी दर्ता गराएको बताईएको छ ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ । कानुनविपरीत चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै बालअधिकारको गम्भीर उल्लंघन भएको जिकिर गरिएको छ ।

नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने बताए । उनका अनुसार, प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा बनाइएको समितिले उजुरी अध्ययन गर्नेछ र तालुक निकायमा पत्राचार गरिनेछ ।

आउँदो फागुन २१ गते हुने निर्वाचनलक्षित प्रचारका क्रममा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको सञ्जालको आरोप छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनी सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा छन् ।

1

Scroll to Top