फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति डडेलधुरामा १२ सय ४० जनशक्ति खटाइने भएको छ । प्रतिनिधिसभातर्फ डडेलधुरा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार, १४२ मतदान केन्द्रमा १४२ मतदान अधिकृत, ३९१ स्वयंसेवक, १४२ सहयोगी कर्मचारी र ४२३ सहायक कर्मचारी खटाउने तयारी छ । कार्यालयका अनुसार, १४२ मतदानस्थलमध्ये ३०० भन्दा कम मतदाता रहेका नौ केन्द्र छन् । ५०० सम्म मतदाता रहेका ३४ मतदान केन्द्र छन् ।
निर्वाचन अधिकारी करुणाकर अवस्थीले फागुन १८ गते मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगिसक्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए । एक–दुई स्थानमा बाहेकका सबै मतदान केन्द्रमा नेपाल टेलिकमको सहयोगमा निःशुल्क वाइफाई जडान गरिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, संवेदनशील तथा अति संवेदनशील क्षेत्रमा सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ ।
डडेलधुरामा तीन स्वतन्त्र र दलका तर्फबाट १० गरी १३ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यहाँ १०४ मतदानस्थल, १४१ मतदान केन्द्र र ९३ हजार ४०३ मतदाता छन् ।


