Banijya News

रास्वपाको सरकार बन्ने भएसँगै ओलीलाई कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस

1
1.1K Shares

जेन–जी आन्दोलनका क्रममा भदौ २३–२४ मा भएका गोलीकाण्ड र आगजनीका घटनामाथि छानबिन गर्न गठित जाँचबुझ आयोगले भूमिका औँल्याउँदै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार बन्ने र बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने लगभग निश्चित भएसँगै जेन–जी आन्दोलनका घटनामाथि छानबिन गरेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक तथा सुरक्षा नेतृत्वमाथि कारबाही गर्न सिफारिस गरेको हो । निर्वाचनअघि सम्भावित राजनीतिक संवेदनशीलता र जोखिमलाई ध्यानमा राख्दै आयोगले प्रतिवेदन सार्वजनिक नगरी ‘होल्ड’मा राखेको थियो। तर नयाँ राजनीतिक समीकरण स्पष्ट भएसँगै आयोगले प्रतिवेदन सरकारलाई बुझाउँदै जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सिफारिस गरेको हो।

जेन–जी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका गोलीकाण्ड र आगजनीका घटनाबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले जनाएको छ। आइतबार आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो। आयोगका पदाधिकारीहरूले भने कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्। साथै, उनीहरूमाथि कस्तो प्रकारको कानुनी कारबाही गर्न सिफारिस गरिएको हो भन्नेबारे पनि खुलाइएको छैन।

करिब छ महिनाको अध्ययनपछि तयार पारिएको करिब एक हजार पृष्ठ लामो प्रतिवेदनको संवेदनशीलता हेरेर पूर्ण वा आंशिक रूपमा सार्वजनिक गर्ने र कार्यान्वयनमा लैजानेबारे निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ। निर्वाचनअघि प्रतिवेदन सार्वजनिक गर्दा राजनीतिक तनाव बढ्न सक्ने आकलन गर्दै आयोगले यसलाई सार्वजनिक नगरी रोकेको थियो। सरकारले आन्दोलनमा भएको मानवीय क्षति तथा त्यसपछिको आगजनी घटनाबारे छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो। थपिएको म्यादको अन्तिम दिन आयोगले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाएपछि आयोग संयोजक कार्कीले २३ र २४ भदौका घटनाबारे वस्तुगत रूपमा अनुसन्धान गरिएको बताएका छन्। उनका अनुसार घटनाको समयमा जिम्मेवार राजनीतिक र सुरक्षा नेतृत्वमा रहेका व्यक्तिहरूको भूमिकासमेत प्रतिवेदनमा औँल्याइएको छ। भदौ २३ को घटना हुँदा मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक थिए। त्यस्तै गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल तथा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ पनि जिम्मेवार पदमा थिए।

त्यसैगरी काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारी, एसपी अपिलराज बोहरा, उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख डिआइजी ओम राना, संसद् भवन सुरक्षामा खटिएका एसएसपी सोमेन्द्रसिंह राठौर तथा डिएसपी एलिजा गिरी घटनाका समयमा फिल्डमा खटिएका थिए।

नेपाल प्रहरीका पूर्व एआइजी तथा आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार घटनामा गम्भीर ‘सिक्युरिटी ल्याप्सेस’ देखिएको छ। सरकारले २३ र २४ भदौका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। ९ असोजदेखि कार्यारम्भ गरेको आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको थियो।

आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, गृहसचिव दुवाडी तथा प्रहरी प्रमुख खापुङलगायत उच्चपदस्थ व्यक्तिहरूको भूमिका अध्ययन गरेको थियो। साथै २३ भदौको गोली प्रहार र २४ भदौको आगजनी घटनालाई फरक–फरक ढंगले विश्लेषण गरिएको छ।

विगतका आयोगका प्रतिवेदनजस्तै यसलाई कार्यान्वयनमा लैजान सहज भने नहुने विश्लेषण गरिएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीका अनुसार अब बन्ने सरकारले आफ्नो र अर्काको मान्छे छुट्याए बिना प्रतिवेदन कार्यान्वयन गर्न सके मात्र यसको अर्थ रहनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो चुनावी वाचापत्रमै जेन–जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। वाचापत्रमा आन्दोलनका क्रममा भएको बल प्रयोगलगायत घटनाबारे आयोगले दिएका सुझाव र सिफारिस कार्यान्वयन गरिने उल्लेख गरिएको छ। यता एमालेले भने प्रतिवेदन अध्ययन गरेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले प्रतिवेदन निष्पक्ष भए समर्थन गर्ने र पक्षपातपूर्ण भए प्रतिक्रिया दिने बताएका छन्।

पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको बयान लिन बाँकी रहेपछि आयोगको म्याद पटक–पटक थप गरिएको थियो। अन्ततः थपिएको अन्तिम म्यादको दिन आयोगले प्रतिवेदन सरकारलाई बुझाएको हो।

1

Scroll to Top