Banijya News

रास्वपालाई कुलमानले दिए बधाई: ‘सुशासन कायम गर्न सफल होऊन्’

1
1.1K Shares

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाईका साथै सुशासन कायम गर्न सफल होस् भनी शुभकामना दिएका छन्। घिसिङले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अब बन्ने रास्वपाको सरकारले राम्रो काम गरे आफ्नो पार्टीले समर्थन गर्ने र गलत गरे सडकबाट भए पनि खबरदारी गर्ने उल्लेख गरेका छन्।

‘चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु’, उनले लेखेका छन्, ‘सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ।’

साथै अध्यक्ष घिसिङले लोडसेडिङ अन्त्य गरेर जनताको मन जित्न सकिए पनि मत भने जित्न नसकिएको बताएका छन्। यद्यपि यो प्रावधिक विषय मात्र भएकाले पार्टीका नेता-कार्यकर्तालाई निराश नहुन उनले अपिल पनि गरेका छन्। ‘हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्‌भाव हाम्रा लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ’, घिसिङले लेखेका छन्, ‘चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

1

Scroll to Top