प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् । बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उनले यस्तो बताएकी हुन्। वर्तमान सरकारले जेनजी आन्दोलनपछिको असामान्य स्थितिलाई समान्यीकरण गर्दै निर्वाचन गराउन सफल भएको बताइन्। उनका अनुसार निर्वाचन गराउने कार्य चुनौतीपूर्ण थियो। उनले तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गरिन्। उनका अनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ। निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनको भनाइ छ।
सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उनले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेका वेला आफूले सरकारको नेतृत्व गरेको उल्लेख गरिन्। कानूनी–राजनीतिक शून्यता सिर्जना भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु सहज नभएको उनको भनाइ छ। कार्कीले भनिन्, ‘आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा प्रष्ट जनादेश दिनुभएको छ। समग्रमा एकप्रकारको कानूनी राजनीतिक शून्यता थियो। यी सबै परिदृश्यका बीच ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याउने प्रतिबद्धताका हामीले जिम्मेवारी लिएका थियौँ, जुन सहज थिएन।’
प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापित गरेको बताइन्। उनले निर्वाचन घोषणापछि समेत मतदाता नामावली संकलन गरी ठूलो संख्यामा युवा मतदातालाई समेटिएको जानकारी दिइन्। उनले निर्वाचनका लागि सहयोग गर्ने अन्ताराष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोग लगायत सबैलाई धन्यवाद दिइन्।


