विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।
वर्तमान सरकारले विश्वविद्यालयहरूमा सक्रिय विभिन्न विद्यार्थी सङ्गठनहरू खारेज गर्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध आठ विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीहरूले सरकारको निर्णयले सङ्गठन गर्ने अधिकार, शैक्षिक वातावरण र लोकतान्त्रिक अभ्यासमाथि असर पर्ने दाबी गरेका थिए । सोही रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले तत्कालका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
यससँगै विद्यार्थी सङ्गठनहरूको कानूनी हैसियत तत्काल यथास्थितिमा रहने भएको छ । अदालतले मुद्दाको विस्तृत सुनुवाइ अघि बढाउने तयारी गरेको छ भने दुवै पक्षलाई थप प्रमाण र तर्कसहित उपस्थित हुन निर्देशन दिएको बताइएको छ ।


