अहिले संसद्को बर्खे अधिवेशन चलिरहेको छ । यसै क्रममा बैशाख २८ गते सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रतिनिधिसभा बैठक बोलाइएको थियो । तर, संसद्मा सरकार प्रमुख प्रधानमन्त्री बालेन्द्र साह नै जवाफ दिन अनुपस्थित भएपछि संसद् केही समयका लागि अवरुद्ध भयो ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णीम वाग्लेलाई समय दिएपछि विपक्षी दलले विरोध गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित नभएपछि संसद्मा विपक्षीले विरोध जनाउँदै उनको राजीनामासमेत माग गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री नआएसम्म सदनको कामकारबाही अगाडि बढ्न नदिने चेतावनी दिए । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई सदनबाटै बाहिरिए ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली धारा ३८ अनुसार अर्थमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिएको बताए । तर, विपक्षी दलहरुले प्रधानमन्त्री संसद्मा उपस्थित हुनैपर्ने माग राख्दै विरोध जनाइरहे । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस साथै नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले संसद्मा विरोध जनाएका थिए ।
यसै क्रममा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रस्ताव पेस गर्न अर्थमन्त्रीलाई दिए पनि जवाफमा भने प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए । नभए सदन चल्न नदिने चेतावनी दिए ।
त्यस्तै, काँग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सदन केही समयका लागि स्थगित गरेर छलफल गरेर अघि बढ्न सुझाए ।
एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री उपस्थित भएर नै प्रस्ताव पेस गर्नुपर्ने बताए । एमालेकै सांसद गुरु बरालले पनि प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने धारणा राखे ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पाँच वर्षमा प्रधानमन्त्रीको कुरा सुन्न नपाइने हो भन्दै प्रश्न गरे । उनले पनि प्रधानमन्त्री आउनुपर्ने बताए ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रमभन्दा ठूलो के कुरा भयो भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङका लागि सभामुखसँग माग गरे ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित हुन र जवाफ दिन प्रधानमन्त्री साह स्वयं उपस्थित हुनुपर्ने विपक्षी दलको अडानका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक अन्ततः एक घण्टापछि पुनः सुरु भएको थियो । तर, प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध राखेपछि पुनः स्थगित भएको हो ।


