राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भइरहेको छ । आइतबारदेखि सुरु भएको महाधिवेशन अहिले बन्दसत्रसम्म पुगेको छ । यही महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ । त्यसैले, पार्टीको नेतृत्वमा पुग्न उम्मेदवारी दिने आकांक्षीहरुको सक्रियता पनि उत्तिकै बढेको छ । यही क्रममा प्रहरी सेवाका पूर्वअधिकृतमध्ये नौ जनाको सक्रिय उपस्थिति देखिएको छ । विभिन्न दर्जाबाट अवकाश पाएका भए पनि महाधिवेशनको मैदानमा उनीहरु सबैले एउटै पद केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
एआईजीदेखि असईसम्मबाट अवकास वा जागिर छाडेका पूर्वप्रहरी अधिकारीहरुले रास्वपाको केन्द्रीय सदस्यमा दाबी पेश गरिरहेका छन् । पूर्वएआईजी विश्वराज पोखरेलले कोशी प्रदेशको भौगोलिक क्षेत्रबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले फागुन २१ को निर्वाचनमा ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य जितेका थिए ।
यसैगरी, असईबाट प्रहरीको जागिर छाडेका पर्सा–४ का सांसद टेकबहादुर शाक्य पनि केन्द्रीय सदस्यकै मत मागिरहेका छन् । उनी नेपाल प्रहरीको असईमा २०५५ सालमा भर्ना भएका थिए । तर, सशस्त्र द्वन्द्वका क्रममा विकट क्षेत्रमा खटिने भएपछि जागिर छाडेका थिए ।
सशस्त्र प्रहरीका पूर्वडीआईजी विदुर खड्का पनि केन्द्रीय सदस्यका लागि मत मागिरहेका छन् । सशस्त्रको प्रवक्ताको जिम्मेवारीपछि उनी अवकास भएका थिए । उनले रास्वपा महाधिवेशनमा बागमती प्रदेशको भौगालिक क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
खड्कासँगै सशस्त्रको डीआईजीबाट अवकास पाएका दुर्गाप्रसाद भट्टराई पनि अर्का दाबेदार हुन् । उनले पनि केन्द्रीय सदस्यमै उम्मेदवार हुने मनस्थिति बनाएको बुझिएको छ । त्यस्तै, सशस्त्रको एसएसपीबाट अवकास पाएका विश्वेश्वर थापाले पनि केन्द्रीय सदस्यमै दावी गरिरहेका छन् ।
नेपाल प्रहरीको एसएसपीबाट अवकास पाएपछि राजनीतिमा सक्रिय भएका विक्रमसिंह थापा पनि रास्वपाको केन्द्रीय सदस्यका उम्मेदवार हुन् । अवकासपछि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका थापा २०७९ को निर्वाचनमा सोही पार्टीबाट कपिलबस्तुमा उम्मेदवार थिए । तर, पराजित भएपछि गत फागुन २१ को निर्वाचनअघि रास्वपामा प्रवेश गरी सोही जिल्लाको क्षेत्र नं. २ बाट चुनाव जितेका हुन् ।
अर्का पूर्वएसएसपी जीवनकुमार श्रेष्ठ पनि गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका प्रत्यासी छन् । उनी अहिले रास्वपाको केन्द्रीय उत्पादन प्रवद्र्धन विभागका सदस्य छन् । २०८१ भदौ १६ मा प्रहरी सेवाको ३० वर्ष पूरा गरी अवकास भएका हुन् । अवकासलगत्तै उनी रास्वपामा प्रवेश गरेका थिए ।
नेपाल प्रहरीको डीएसपीबाट अवकास पाएपछि कानुन व्यवसायीका रुपमा सक्रिय भएका गोविन्द पन्थी पनि रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार छन् । उनले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी–२ बाट एमाले उपाध्यक्ष गोकर्ण विष्टलाई हराएर सांसद भएका हुन् ।
झापा–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका पूर्ववरिष्ठ सई शम्भुप्रसाद ढकाल (सुस्केरा) पनि रास्वपाको केन्द्रीय सदस्यका आकांक्षी छन् ।


