नेकपा एमालेका प्रभावशाली नेता एवं उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरी अनुसन्धान थालेको छ । आठ पटक मन्त्री बनेका र पाँच पटक अर्थ मन्त्रालय हाँकेका विष्णु पौडेललाई सोमबार पक्राउ गरी विभागले अनुसन्धान थालेको हो । पौडेललाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारको निर्देशनमा विभागले पक्राउ गरेको स्रोतको दाबी छ ।
पौडेलले विवादास्पद व्यवसायीसँगको मिलेमतोमा अवैधरुपमा सम्पत्ति जोडेको आशंकामा सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको हो । पौडेलले यसअघि व्यवसायी दीपक भट्टलाई लाभ हुने गरी निर्णय गरेको र उनीसँगको साझेदारीको विषय जोडिएपछि अनुसन्धानको घेरामा परेका हुन् । आफ्नो नाममा जग्गाजमिन र सम्पत्ति नभए पनि अरूको नाममा सम्पत्ति व्यवस्थापन गरेर लाभ लिएको प्रमाण फेला परेको सम्पत्ति शुद्धीकरण विभाग स्रोतको दाबी छ ।
यसअघि व्यवसायी दीपक भट्ट प्रकरण र उनीसँगको बयानबाट केही संकेत पाएकोले त्यसैका आधारमा पौडेल पक्राउ परेको स्रोतको दाबी छ । पौडेललाई सम्पत्ति शुद्धीकरण र व्यावसायिक लाभको आरोपमा विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेको हो ।
पार्टीको कार्यक्रममा रहेको बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा प्रहरीले सुर्खेतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएर मंगलबार दिउँसो विभागलाई जिम्मा लगाएको छ ।
नेपालको राजनीतिमा पावर ब्रोकर र आर्थिक नीति निर्माणमा प्रभावशाली मानिने पौडेलमाथि राज्यसत्ताको दुरुपयोग गरी विभिन्न व्यापारिक समूहलाई अनुचित लाभ दिलाएको र त्यसबापत आर्थिक लाभ लिएको भन्ने गम्भीर आरोप लागेको छ ।
व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन शक्तिको दुरुपयोग गरेको आरोप पौडेलमाथि छ । पौडेलले भट्टको कम्पनीलाई सस्तो मूल्यमा सेयर बेच्न दबाब दिएको दाबी गरिएको छ । त्यो सेयर सस्तोमा बिक्री गरेबापत पौडेलले ती व्यापारीलाई चार वटा नीतिगत फाइदा गरिदिने आश्वासन दिएको र आफू अर्थमन्त्री हुँदा तीमध्ये केही काम सम्पन्नसमेत गरेको स्रोतको दाबी छ ।
विभागले पौडेलले विभिन्न व्यक्तिको नाममा आफ्नो सम्पत्ति पार्किङ गरेको (लुकाएको) हुनसक्ने आशंकामा पनि अनुसन्धान भइरहेको उल्लेख गरेको छ । विभागले पौडेलको नाममा तथा परिवारका सदस्यका नाममा रहेका सम्पत्ति, लगानी र सेयर कारोबारको स्रोतमाथि केन्द्रित रहेर अध्ययन हुने जानकारी दिएको छ । विभागका अनुसार, ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा मारी केही महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिइएको छ ।
सरकारले हालै शंकर समूहका अग्रवालहरू, इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकहरूविरुद्ध धितोपत्र, बीमा र सम्पत्ति शुद्धीकरणका मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा व्यवसायीहरूको बयानबाट पौडेलको बिचौलिया भूमिका खुलेपछि उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
उनको दल नेकपा एमालेले भने पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै भत्र्सना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेरै सरकार अधिनायकवादतर्फ उन्मुख भएको र विपक्षी दलका नेताहरूमाथि शृंखलाबद्ध प्रहार भइरहेको आरोप लगाएका छन् ।


