दुई जर्मन कम्पनी भेरिडोस र मूअलबाउरले असार २९ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रकाशन सुरु गरेका छन् । नयाँ उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत पासपोर्ट सेवा सञ्चालनमा ल्याइएको राहदानी विभागले जनाएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट प्रकाशन थालिएको हो ।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘२०८३ असार २९ गतेदेखि राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको जानकारी गराउन चाहन्छौँ । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ ।’
यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन तथा ‘गो–लाइभ’ भएपछि सुरुका दिनमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक भएको विभागले जनाएको छ । राहदानी विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारीस्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबिसै घण्टा स्ट्यान्डबाई रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहेको जनाएको छ ।
यस किसिमका समस्याको शीघ्र तथा दीर्घकालीन समाधान गर्न आफूहरू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विभागले जनाएको छ । यस नयाँ प्रणालीको सुरुआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन पनि विभागले अनुरोध गरेको छ ।


