पछिल्लो समयमा प्रदेशसभामा देखिएको खटपटका कारण राजनीतिक दलहरुबीचको गठबन्धन नै तोडिने अवस्थामा पुगेको छ । खासगरी, प्रदेश सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेबीचको खटपटले प्रदेश सरकारलाई नै असर पुर्याएको छ ।
यसै क्रममा सुदूरपश्चिम प्रदेशमा रहेको काँग्रेस नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
त्यस्तै, आज बुधबार मात्रै कर्णाली सरकारबाट काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए । कर्णालीमा एमाले नेतृत्वको सरकार रहेको छ ।
प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै काँग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । काँग्रेसको यो निर्णयसँगै सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोडिने भएको छ ।
पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट काँग्रेस पछि हट्ने भएको हो । प्रदेश सरकारमा नेकपासँग समझदारी भएको खण्डमा सरकारमै रहनेगरी छलफल अघि बढाइएको र नभए सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ ।


