नयाँ आर्थिक वर्ष शुरु भएसँगै बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा सीमित बनाएको छ । बागमती प्रदेश सरकारको गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरेकोमा आज साउन १ गतेदेखि निर्णय कार्यान्वयनमा आएको हो ।
मन्त्रालयको संख्या घटेसँगै बागमती प्रदेश मन्त्रिपरिषद्को संरचना पनि बदलिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आठ मन्त्रालय कायम गरी सोहीबमोजिम कार्यविभाजन गरिएको छ ।
नयाँ कार्यविभाजन अनुसार, मुख्यमन्त्रीमा बानियाँ छन् भने कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा मधुसूदन पौडेल रहेका छन् । यस्तै, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मा शिवराज अधिकारीले पाएका छन् भने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चनचन्द्र वादेलाई तोकिएको छ ।
त्यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा डा. दिनेशचन्द्र देवकोटाले पाउँदा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा प्रभात तामाङले पाएका छन् । खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णबहादुर तामाङ बनेका छन् भने उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ बनेकी छन् । यता, किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल भने विना विभागीय मन्त्री बन्न पुगेका छन् ।


