Banijya News

राजनीतिक दलहरुले गरे सातबुँदे अपील, शान्तिपूर्ण संवादबाट सहमति गर्न आग्रह

1
1.0K Shares

हालै सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्था, अशान्ति र सामाजिक तथा धार्मिक सद्भाव खलबलिने जोखिमप्रति ध्यानाकर्षण गराउँदै बसेको राजनीतिक दलहरूको संयुक्त बैठकले सातबुँदे अपील जारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकमा नौ राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएका थिए । बैठकले सातबुँदामा संयुक्त धारणा सार्वजनिक गरेको हो ।

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै एकता, सहिष्णुता र सहअस्तित्व काय राखी शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ । केन्द्रको मात्र प्रयासले शान्ति कायम नहुने निष्कर्ष निकाल्दै तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान पनि गरेको छ ।

दलहरूले केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्न आफूहरू तयार रहेको बताउँदै अफवाहलाई नियन्त्रण गर्न र सामाजिक सञ्जालको जिम्मेवार रूपमा प्रयोग गर्न पनि अपील गरेको छ । साथै, बैठकले सकारको ध्यानकर्षण गराउँदै पीडितलाई क्षतिपूर्ति र दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारीको सहभागिता रहेको थियो ।

1

Scroll to Top