सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
त्यस्तै, गोली लागेर अर्का एकजना घाइते भएका छन् । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको बरालले जानकारी दिए ।
यसैगरी, सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको पनि आज विहीबार नै मृत्यु भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचारकै क्रममा रहेका देवानगन्जकै २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली उनको पेटमा लागेको थियो । यसअघि आइतबार राति देवानगन्जमा भएको घटनामा ८ युवा प्रहरीको गोली लागेर घाइते भएका थिए ।
सुनसरी घटनापछि तरंगित मधेसका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ । निषेधाज्ञा पनि जारी छ । तर, प्रदर्शनकारीहरू सडकमा आन्दोलन गरिरहेका छन् ।


