प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई नियन्त्रण गर्न, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ गर्न सरकार योजनाबद्ध रूपमा लागि परेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै संयन्त्र उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिए ।
उनले नागरिकलाई भ्रम र अफवाहबाट प्रभावित नभई संयमित रहन आग्रह गरे। प्रभावित क्षेत्रका नागरिकसम्म पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउने र घटनाको निष्पक्ष छानबिन गर्ने विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ थियो । परिस्थिति थप बिग्रन नदिन तथा शान्ति–सुरक्षालाई प्रभावकारी बनाउन सरकारले बहुपक्षीय रणनीतिअनुसार काम गरिरहेको प्रम शाहले बताए ।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वास तथा सद्भावको पुल बन्न आग्रह गरे । संकट र आपत्कालीन अवस्थामा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःखमा साथ दिनु जनप्रतिनिधिको वास्तविक दायित्व भएको उनले स्मरण गराए ।
प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै सांसदहरूले तत्काल आफ्ना निर्वाचन क्षेत्रमा पुगेर धार्मिक तथा सामाजिक सौहार्द कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
सांसदहरूले प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको बताएका थिए ।
छलफलमा स्थानीय तहमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम गर्न दुवै समुदायका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद गर्नुपर्ने सुझावसमेत दिइएको थियो ।
त्यसैगरी, तनावग्रस्त तथा आसपासका क्षेत्रमा सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने, सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाहबाट युवालाई जोगाउन स्थानीयस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।


