नेपाल सरकार मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावअनुसार तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ । यसैगरी, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने निर्णय भएको छ । साथै, नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ ।
यसैगरी कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ । साथै, शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डाक्टर खड्क बहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
पाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २० गतेको बैठकका मुख्य निर्णयहरू
१. तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
२.लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङकी उक्याव, काठमाडौंलाई नियुक्ति गर्ने।
३.नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
४. पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणवद्ध रूपमा नेपाल राज्यभर लागु गर्ने।
५.बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्ग बहादुर के. सी., पर्वत र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ, भोजपुरलाई नियुक्ति गर्ने।
७.सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यू हुने र घाइतेहहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने।


