नेपाली काँग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज विहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासमा पेशी तोकिएको हो ।
आजको सुनुवाइपछि पुनरावलोकनको निवेदन स्वीकार गर्ने वा नगर्ने (निस्सा प्रदान गर्ने वा नगर्ने) विषयमा इजलासले निर्णय गर्ने अपेक्षा गरिएको छ । पुनरावलोकनको निस्सा प्रदान भएमा मुद्दाको थप सुनुवाइको प्रक्रिया अघि बढ्नेछ भने निस्सा अस्वीकृत भएमा पुनरावलोकनको प्रक्रिया त्यहीँ टुंगिनेछ ।
उक्त विवादसँग सम्बन्धित सर्वोच्च अदालतको अघिल्लो आदेशमाथि पुनरावलोकनको माग गर्दै देउवाले निवेदन दर्ता गराएका थिए । आजको सुनुवाइले पुनरावलोकन प्रक्रियाको आगामी दिशा तय गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।


