नेपाली काँग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज विहीबार दिउँसो स्वदेश फर्किएका छन् । आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको उनले बताएका छन् ।
सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले आफू सेवकका रुपमा उपस्थित भएको पनि भनेका छन् ।
यसैगरी, काँग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका छन् । अपिलमार्फत उनले परिवर्तन सजिलो हुँदैन भन्ने कुरा आफूले राम्रोसँग जानेको बताएका छन् ।
उनले आफ्नो दायित्व भुलेर सरकार राजनीतिक आग्रह पूर्वाग्रह साँध्न लाग्ने हो भने त्यो मुलुकको हितमा नहुने बताएका छन् । ‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु । परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ । जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ । त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन् ।
त्यस्तै, आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर नहुने उनको भनाइ छ । उनले भनेका छन्, ‘त्यसैले जनताको आकांक्षा पुरा गर्ने बाटोमा सरकार अघि बढ्नु पर्छ । ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन ।’ उनले परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

